कर्मचारीले नकिनेपछि सोनापुर मिनरल्सको आईपीओ ९९% आवेदकले पाए

0
Shares

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको प्रिमियम मूल्यमा जारी आईपीओ सम्बन्धीत उद्योगका कर्मचारीले नै नकिनेपछि झण्डै सबै आवेदकले सेयर हात पारेका छन् ।

सोनापुर मिनरल्सले आफ्नो उद्योगमा कार्यरत कर्मचारीमा सार्वजनिक निष्कासनको ५ प्रतिशतले हुन आउने ६ लाख ८ हजार २८४ कित्ता सेयर आरक्षित गरेकोमा कर्मचारीहरूले १९ हजार ५०० कित्ताका लागि मात्र आवेदन दिएका हुन् । करिब ९७ प्रतिशत सेयर कर्मचारीले नकिनेपछि उक्त अवितरित सेयर समेत सर्वसाधारणमा थप गरी कुल १ करोड ३ लाख २१ हजार ३२८ कित्ता सेयर बाँडफाँड गरिएको हो ।

बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलका अनुसार बुधबार भएको सेयर बाँडफाँडमा ९९.१७ प्रतिशत आवेदनले सेयर हात पारेका हुन् । सर्वसाधारणमा ९७ लाख ३२ हजार ५४४ कित्ता खरिदका लागि आह्वान गरिएकोमा कर्मचारीले ५ लाख ८८ हजार ७८४ कित्ता सेयर खरिद नगरेपछि सर्वसाधारणमा थपेर बाँडफाँड गर्दा धेरै आवेदकले सेयर हात पारेका हुन् ।

कम्पनीको आईपीओमा आवेदन दिएकामध्ये १० लाख ४० हजार ७७० जनाले आवेदन दिएकोमा १० लाख ३२ हजार १३२ जनाले सेयर हात पारेका हुन् । सदर आवेदकमध्ये ८ हजार ६३८ जनाको हात मात्र खाली भएको छ ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम भएको सेयर बाँडफाँडमा सबै आवेदकलाइ सेयर बाँडफाँड गर्न अपुग भएपछि गोलाप्रथाबाट गरिएको हो । जसमा १० लाख ३२ हजार १३२ जना आवेदकलाई १० कित्ताका दरले १ करोड ३ लाख २१ हजार ३२० कित्ता बाँडफाँड गरिएको हो । यसरी बाँडफाँड गरि बाँकी रहेको ८ कित्ता सेयर पुनः गोलाप्रथाबाट सेयर पाउनेमध्येबाट ८ जनालाई १।१ कित्ताका दरले बाँडफाँड गरिएको हो ।

यसअनुसार सोनापुरको आईपीओ ८ जनाले ११ कित्ताका दरले र १० लाख ३२ हजार १२४ जनाले १० कित्ता हात परेका हुन् । सदर भई सेयर बाँडफाँडमा सहभागि ८ हजार ६३८ जनाले भने सेयर पाउन सकेनन् ।

कम्पनीले असोज १४ देखि १८ गतेसम्म सर्वसाधारणका लागि प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी कुल २३७ रुपैयाँ ५८ पैसा दरमा सेयर बिक्री खुला गरेको थियो । बिक्री प्रबन्धक एनआईएमबि क्यापिटलको कार्यालयमा बुधबार बिहान साढे ९ बजे सेयर बाँडफाँड भएको हो ।

आईपीओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँ पुगेको छ । यस्तै कम्पनीले प्रिमियम मूल्यमा सेयर बिक्री गरे वापत १ अर्ब ६६ करोड ६१ लाख ४९ हजार ७३८ रुपैयाँ संकलन गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।