जगदम्बा स्टिल्सले प्रिमियममा सहित पाँच कम्पनीले मागे आईपीओ बेच्न स्वीकृति

0
Shares

सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री गर्न पछिल्लो पटक दुई सातायता पाँच कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएका छन् । पाँच कम्पनीले कुल ५ करोड २३ लाख ९३ हजार ७८ कित्ता सेयर बिक्रीको अनुमति मागेका हुन् ।

बोर्डका अनुसार याम्बालिङ हाइड्रोपावर, एपेक्स हस्पिटालिटी, माविलुङ इनर्जी, जगदम्बा स्टिल्स र एसवाई प्यानल नेपालले आइपीओ निष्कासनको अनुमति मागेका हुन् । जगदम्बा स्टीलले प्रिमियम मूल्यमा सेयर बिक्रीको अनुमति माग गरेको हो भने अन्य चार कम्पनीले अंकित मूल्यमा नै सेयर जारी गर्ने अनुमति मागेका छन् ।

धितोपत्र बोर्डका अनुसार जगदम्बा स्टीलले ६ अर्ब २ करोड १० लाख रुपैयाँ बराबरको आईपीओ बिक्रीका लागि असोज १७ गते अनुमति मागेको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा २०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ३०० रुपैयाँका दरले २ करोड ७० हजार कित्ता सेयर बिक्री गर्न अनुमति मागेको हो । धितोपत्र जारी गर्न कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धक चयन गरेको छ । रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडका अनुसार जगदम्बा स्टिल्स लिमिटेडले सन् २०२३ मा ४० अर्ब १७ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।

यसैगरी एसवाई प्यानलले नेपाल लिमिटेडले ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर बिक्री गर्न बोर्डसँग अनुमति मागेको छ । कम्पनीले असोज १९ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरमा ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको आईपीओ बेच्न नुमति मागेको हो । एसवाई प्यानलले धितोपत्र जारी गर्न प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धक चयन गरेको छ ।

यस्तै याम्बालिङ हाइड्रोपावर लिमिटेडले पनि आईपीओ जारी गर्न असोज १० गते बोर्डमा निवेदन दिएको छ ।कम्पनीले १०० रुपैयाँ अंकित दरमा २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता सेयर बिक्री गर्न अनुमति मागेको हो । धितोपत्र जारी गर्न हाइड्रोपावरले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धक चयन गरेको छ ।

त्यसैगरी, एपेक्स हस्पिटालिटी लिमिटेडले पनि २४ करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणमा जारी गर्ने भएको छ ।कम्पनीले १०० रुपैयाँका दरले २४ लाख कित्ता सेयर निष्कासन गर्न असोज १२ गते धितोपत्र बोर्डसँग अनुमति मागेको छ । धितोपत्र जारी गर्न कम्पनीले हिमालयन क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको नियुक्त गरेको छ ।

यता, माविलुङ इनर्जी लिमिटेडले पनि असोज १४ गते १८ करोड ९० लाख ५३ हजार रुपैयाँको आईपीओ बिक्रीको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएको छ । यो कम्पनीले पनि १०० रुपैयाँका दरले १८ लाख ९० हजार ५३० कित्ता सेयर बिक्री गर्न अनुमति मागेको हो । धितोपत्र जारी गर्न कम्पनीले लक्ष्मी क्यापिटल मार्केटसलाई बिक्री प्रबन्धक तोकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।