दैनिक उपभोग्य वस्तुको कालोबजारी नियन्त्रण गर्न सांसदहरुको माग


सांसदहरुले दसैँ, तिहार, छठ पर्वका अवसरमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि र कालोबजारी बढेको भन्दै त्यसलाई नियन्त्रण गरी सहजरुपमा उपभोग्य वस्तु उपलब्ध गराउने वातावरण बनाउन सरकार समक्ष माग गरेका छन । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनीहरुले कृतिम अभाव सिर्जनन गर्ने व्यापारीलाई कडा कारबाही गर्न आग्रह गरेका हुन ।

सांसद प्रदीप पौडेलले चाडबाडका बेला सधैँजसो बजारमा दैनिक उपभोग्य वस्तुको कृतिम अभाव सिर्जना हुने गरेको र कालोबजारी मौलाउने गरेको भन्दै यस्तो कार्यमा संलग्नलाई कानुनी कारबाही गरी उपभोग्य वस्तुसहज रुपमा उपलब्ध गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । सांसद प्रतिमा गौतमले दसैँ, तिहार, छठ नजिकिएको र यात्रुहरु गन्तव्यतर्फ लागिरहेको अवस्थामा महँगो भाडादर तिर्नु परेको, अखाद्य वस्तुको उपभोग बढेको, बजारमा महँगी बढेको र कृतिम अभाव सिर्जना गरेको भन्दै महँङ्गी नियन्त्रण गराउन जोड दिइन ।

सांसद पदम गिरीले चाडपर्वको मुखमा चिनीको कृतिम अभाव सिर्जना गरिएको र बजारमा कालोबजारी बढेकाले उपभोग्य वस्तुको सहज आपूर्तिका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । उनले स्थानीय तहका कर्मचारीको माग सम्बोधन गर्न सरकार समक्ष माग गरे । सांसद प्रेमबहादुर महर्जनले दसैँ नजिकिँदै जाँदा महँगी र अभाव हटाउन तथा गन्तव्यमा पुग्ने यात्रुलाई सहज यातायातको व्यवस्था मिलाउन माग गरेका छन ।

सांसद बलराम अधिकारीले चाडपर्वको मुखमा स्थानीय कर्मचारीको समस्या सम्बोधन गर्न, उपभोग्य वस्तुको सहज आपूर्ति मिलाउनका लागि पहल गर्न आग्रह गरे । सांसद ठाकुर गैरेले पाल्पाली जनताले स्वास्थ्य बीमामार्फत स्वास्थ्य सेवा पाउनुपर्ने अधिकारबारे आफूले सदनमा पटक–पटक कुरा उठउनाका साथै स्वास्थ्यमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउँदा पनि जिल्लामा चिकित्सक अभाव रहेकामा कार्यान्वयनका लागि चासो नदिएको गुनासो गरेका थिए ।

उनले वीर अस्पतालमा सयौँ स्वास्थ्यकर्मी निष्कासित भएको, बिरामीलाई शय्या अभाव भएको तथा चिकित्सकहरुले राजिनामा दिएको विषयमा पनि सरकारको ध्यानाकर्षण गराए । सांसद डोलप्रसाद अर्यालले संविधानको व्यवस्थाअनुसार गैर आवासीय नेपालीले अहिले पनि नागकिरता पाउन नसकेको र लामो समयपछि नियमावली राजपत्रमा प्रकाशित भएको एक महिनासम्म पनि नागरिकता दिने तयारी नगरिएकामा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

सांसद तारा लामातामाङले बझाङ्गी जनता अहिले पनि भूकम्पको त्रासमा रहेको अवस्थामा तिनलाई तत्काल राहत र सहयोग उपलब्ध गराउन सरकार समक्ष माग गरीन । यही असोज १६ गते बझाङमा छ दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको थियो ।
त्यसैगरी सुदूरपश्चिममा दुग्ध विकास संस्थानले असारदेखि असोज महिनासम्म दुग्ध किसानलाई भुक्तानी नदिँदा दसैँको मुखमा किसानले पैसा नपाएर चिन्तित बनेकाले तत्काल भुक्तानीका लागि पहल गर्न उनल माग थियो । सांसद दीपक खड्काले सङ्खुवासभाको अरुण तेस्रो मार्गमा पर्ने झङ्कुटी दिदिङ सडकखण्डमा मुआब्जा नपाएर ४१ दिनदेखि सडक सङ्घर्षमा रहेको रहेकाले दसैँको मुखमा उनीहरुलाई राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए । सांसद दामोदर पौडेल बैरागीले इजरायलमा अलपत्र परेका नेपाली विद्यार्थी र सबै नेपालीको उद्धारका लागि सरकार तदरुकताका साथ लाग्नुपर्नेमा जोड दिए ।

सांसद दिपा शर्माले नेपाली नागरिक चाडपर्व मनाउन स्वदेश र्फकदा नेपाल र भारतका दुबै सीमा नाकामा विभिन्न समस्या भोग्नपरेकाले यसका लागि सहज परिस्थितिको मिलाउन र उपभोग्यवस्तुको कालोबजारी नियन्त्रण गर्न सरकार समक्ष माग गरीन । सांसद देवप्रसाद तिमल्सेनाले दुग्ध विकास संस्थानले दुग्ध किसानलाई लामो समयदेखि भुक्तानी नदिएर हैरानी दिएको भन्दै दसैँमा यथाशीघ्र किसानको भुक्तानी उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।