दसैँका समयमा पाथीभरामा २५ हजारभन्दा बढी जनाले दर्शन गरे


ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ)मा दसैँका समयमा २५ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका छन् । दसैँको समय पाथीभरामा पूजापाठको उत्तम समय मानिन्छ ।

नवरात्रदेखि कोजाग्रत पूर्णिमासम्ममा २५ हजार ६३८ जान भक्तजनले पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । क्षेत्र विकास समितिका अनुसार दसैँको अन्तिम दिन अर्थात् कोजाग्रत पूर्णिमाको दिन चार हजार ३२२ जनाले दर्शनका छन् ।

दसैँ र तिहारका समयमा पाथीभराको दर्शन गर्ने दर्शनार्थीको भीड लाग्ने गर्दछ । विगतदेखिकै परम्पराअनुसार नवरात्रयता पाथीभरामा भक्तजनको उल्लेख्य आगमन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । नवरात्रपछि दैनिक हजारौँ सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरिरहेको समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए ।

उनका अनुसार अधिकांश जिल्लाबाट पाथीभरा दर्शन गर्न भक्तजन आएका छन् । सङ्घीय राजधानी काठमाडौँलगायतबाट समेत भक्तजन दर्शनमा आएका छन् । नेपाल बाहिर भारतको सिक्किम र दार्जिलिङ क्षेत्रबाट केही भक्तजन पाथीभराको दर्शनमा आएको समितिले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।