एक सातापछि पूर्ण रूपमा सञ्चालनमा आयो हेटौँडा–काठमाडौँ जोड्ने सडक


मकवानपुर । अविरल वर्षापछि अवरुद्ध हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको कुलेखानी–फाखेल–फर्पिङ सडकखण्ड एक सातापछि पूर्ण रूपमा सञ्चालनमा आएको छ ।

असोज ८ देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित किटिनी खण्डमा सडक भासिएपछि यातायात अवरुद्ध भएको थियो । सडक मर्मत तथा सरसफाइपछि उक्त सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आएको हो ।

वर्षाका कारण सडकको अवस्था अझै संवेदनशील हुन सक्ने भएकाले सवारी चालक तथा यात्रुलाई सावधानीपूर्वक यात्रा गर्न, गति नियन्त्रण गर्न तथा पहिरो र ढुङ्गा खस्ने जोखिम भएका स्थानमा विशेष सतर्कता अपनाउन उपाध्यक्ष लामाले आग्रह गर्नुभयो । सडक भासिएपछि उक्त खण्डमा यसअघि एकतर्फी रूपमा सवारीसाधन सञ्चालन हुँदै आएको थियो ।

इन्द्रसरोवर गाउँपालिकाका उपाध्यक्ष उमा लामाका अनुसार सडकमा खसेको पहिरो तथा ढुङ्गामाटो हटाउने, अवरुद्ध स्थानमा मर्मत तथा सरसफाइ गर्ने र यातायात सञ्चालनका लागि बाटो मिलाउने काम सम्पन्न भएपछि सडक सञ्चालनमा ल्याइएको हो ।

प्रकाशित मिति: १८ आश्विन २०८३, आइतबार  १७ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।