बुक बिल्डिङ्ग मार्फत सर्वोत्तम सिमेन्टको आईपीओ बिक्री खुला


सर्वोत्तम सिमेन्ट लिमिटेडले नेपालमा नै पहिलो पटक बुक बिल्डिङ्ग विधि मार्फत सार्वजनिक निष्कासन (आईपीओ) को बिक्री खुला गरेको छ ।

कम्पनीले पहिलो चरणमा आजदेखि मंसिर १० गतेसम्म नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका योग्य संस्थागत लगानीकर्ताहरुका लागि सेयर निष्काशन गरेको हो । कम्पनीले बिक्रीमा ल्याउने सेयर संख्याको ४० प्रतिशत अर्थात २४ लाख कित्ता सेयर बिक्री खुला गरेको हो ।

योग्य संस्थागत लगानीकर्ताहरुका लागि नेप्सेले सञ्चालन गर्ने बोलकबोल प्रक्रिया मार्फत सेयर बिक्री गर्न लागेको हो । कम्पनीले सुरुमा बिक्री मूल्य सीमा ५०१ रुपैयाँदेखि ७५१ रुपैयाँ राखेकोमा हाल त्यसलाई घटाएर ४०१ रुपैयाँ देखि ६०१ रुपैयाँ कायम गरेको छ ।

योग्य संस्थागत लगानीकर्ताहरुले नेपाल स्टक एक्सचेञ्जको रजिष्टर्ड कार्यालय, यूएनआई शान्तिमार्ग, भद्रकालीमा गई बोलपत्र आवेदन फाराम रितपूवर्तक भरी शिलबन्दी गरिएको गोप्य बोलपत्र फाराम बुझाउनुपर्नेछ ।

संस्थागत लगानीकर्ताहरुबाट कायम कटअफ मूल्यपछि सर्वसाधारणमा निष्कासन हुने मूल्य निर्धारित हुनेछ । बोलपत्र पेश गर्ने अन्तिम मितिको भोलिपल्ट अर्थात मंसिर ११ गते योग्य संस्थागत लगानीकर्ताहरुबाट प्राप्त आवेदनका आधारमा निष्काशित धितोपत्र पूर्ण रुपमा बिक्री हुने गरी प्राप्त बोलकबोलको कट अफ निर्धारण गरिने कम्पनीले जनाएको छ । यसरी कायम भएको कटअफ वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरुलाई माग बमोजिमको धितोपत्र कटअफ मूल्यमा बाँडफाँड हुनेछ । मूल्य कट अफ मूल्यभन्दा कबोल गरिएको मूल्य कम हुने संस्थागत लगानीकर्ताले भने सेयर प्राप्त गर्ने छैनन् ।

कम्पनीले धितोपत्र बोर्डबाट जारी पुँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर बुक बिल्डिङ्ग विधि मार्फत निष्काशन गर्न अनुमति पाएको थियो ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । यस्तै सह–निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

सेयर निष्काशनका लागि कम्पनीले गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग त्रिपल बी’ प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त कम्पनीले वित्तीय दायित्व बहन गर्न मध्यम स्तरको क्षमता रहेको जनाउँछन् ।

सर्वोत्तम सिमेन्ट लिमिटेडले नवलपरासी जिल्ला, सुनवल नगरपालिका वडा नम्बर ११, जोडेनीमा प्रतिदिन ३ हजार टन क्लिंकर र ३ हजार टन उत्पादन गर्ने सिमेन्ट उद्योग सञ्चालन गरिरहेको छ । कम्पनीले २०७१ फागुन १ गतेदेखि सिमेन्ट तथा क्लिंकर उत्पादन गर्दै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।