रुङ्गटा परिवारको लगानी रहेको स्टील उड इन्टरप्राइजेजको आम्दानीमा गिरावट आएको छ । सन् २०२२ मा २ अर्ब ४ करोड सञ्चालन आम्दानी गरेको कम्पनीको आम्दानी सन् २०२३ मा खुम्चिएर १ अर्ब ३२ करोडमा पुगेको छ ।
सन् २०२२ को तुलनामा सन् २०२३ मा कम्पनीको सञ्चालन आम्दानीमा ३५ प्रतिशतको गिरावट आएको छ । कम्पनीको सञ्चालन आम्दानीमा गिरावट आएता पनि कम्पनीका अन्य सूचांकमा सकरात्मक वृद्धि देखिएको छ ।
ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको कम्पनीको नाफा बढेको छ । सन् २०२२ मा कुल सञ्चालन आम्दानीको ५.७२ प्रतिशत रहेको सो नाफा सन् २०२३ मा २.९३ प्रतिशत विन्दुले बढेर ८.६५ प्रतिशत पुगेको हो ।
सन् २०१० मा जगदम्बा बिक्री केन्द्रको नामबाट स्थापना भएको कम्पनीले पछि नाम परिवर्तन गरी स्टीलउड इन्टरप्राइजेज नामाकरण गरेको हो । कम्पनीले नेपालभर निर्माण तथा हार्डवेयर सामाग्रीहरु बिक्री वितरण गर्दै आएको छ । कम्पनीले टिएमटी छड, एचआर पाइप, एचआर सीट लगायतका सामाग्रीहरुको उत्पादन र बिक्री वितरण गर्दै आएको छ ।
देशभर कम्पनीका ६ वटा शाखा कार्यालयहरु छन् । व्यापार क्षेत्रमा करिब २० वर्षको अनुभव भएका सुनिल कुमार रुङ्गटा र अनुज रुङ्गटाको नेतृत्वमा कम्पनी सञ्चालनमा आएको छ । कम्पनीले ९० करोड बराबरको कर्जाको लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले ३६ करोड २६ लाख बराबरको दीर्घकालीन कर्जाका लागि बी प्लस र ५३ करोड ७३ लाख बराबरको अल्पकालीन कर्जाका लागि ए ४ रेटिङ गरेको छ । कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको १.०८ गुणा रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया