सहकारीले वैदेशिक रोजगारीलाई विस्थापित गर्नुपर्छ:मन्त्री अर्याल

0
Shares

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारी अभियानले वैदेशिक रोजगारीलाई विस्थापित गर्नुपर्ने बताएकी छिन्। राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालको २७ औं वार्षिक साधारण सभाको बिहीबार उद्घाटन गर्दै उनले उद्यमशीलता, व्यवसायिकतामा जानुपर्ने बताइन्।

राज्यले सहकारीलाई तीन खम्बे अर्थनीति अन्तर्गत समेटेको भन्दै उनले एक सहकारी एक रोजगारी अनिवार्य रूपमा लागू गरेर जानुपर्ने बताइन्।

राज्यले सन् २०३० सम्ममा गरीबी शून्यमा झार्ने लक्ष्य लिएको उल्लेख गर्दै अहिले रहेको १८ प्रतिशत गरीबी न्यून गर्न सहकारीले भूमिका खेल्नुपर्ने धारणा राखिन्।

बचत तथा ऋण सहकारी संस्थाको सङ्ख्या अत्यधिक बढी भएकाले संस्थाको सङ्ख्या बढाउनेतिर भन्दा कार्यक्षेत्र विस्तार गर्ने अभियान लाग्नुपर्ने मन्त्री अर्यालको भनाई थियो।

कार्यक्रममा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले राज्यले लिएको समृद्ध नेपाल सुखी नेपालीको अभियान पूरा गर्न सहकारी महत्वपूर्ण क्षेत्र भएकाले गरीबीमुखी कार्यक्रम, योजना बनाएर अगाडि बढ्न जरुरी रहेको बताइन्।