एउटै स्थानीय तहमा एक वर्षमा ५२ करोडभन्दा बढी विप्रेषण भित्रियो


कटारी नगरपालिकामा वैदेशिक रोजगारीमा गएकाहरूबाट एक वर्षमा ५२ करोड १३ लाख रुपैयाँ विप्रेषण भित्रिएको छ । गत आर्थिक वर्ष २०७९/८० मा नगरपालिकाबाट एक हजार नौ सय ६७ जना वैदेशिक रोजगारीमा गएका छन् । त्यसैगरी सो आर्थिक वर्षमा चार सय ६४ जना वैदेशिक रोजगारीबाट फर्किएका छन् ।
 
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीका अनुसार कुल विप्रेषणमध्ये सबैभन्दा बढी अनुत्पादक क्षेत्रमा खर्च भएको छ । “कुल भित्रिएको विप्रेषणमध्ये १४ प्रतिशतमात्रै बचत देखियो, एक दशमलव सात प्रतिशत ऋण लगानी भएको छ”, उनले भने, “शून्य दशमलव पाँच प्रतिशत व्यवसाय र ८४ प्रतिशत अनुत्पादक क्षेत्र अर्थात् मोबाइल तथा टिभीलगायतमा खर्च भएको देखियो ।”
 
वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको नगरपालिकामा वैदेशिक रोजगारीबाट फर्किएकाका लागि पुनःएकीकरण (रेमी) परियोजनासमेत सुरु भएको छ । नेपाल सरकारको श्रम तथा रोजगार सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत प्रदेश सरकार सामाजिक विकास मन्त्रालय हुँदै यो परियोजना कोशी प्रदेशको १० वटा स्थानीय तहमा सुरु भएको छ ।
 
स्वीजरल्याण्ड सरकारको सहयोगमा ‘हेल्भेटास नेपाल’ मार्फत सुरु भएको यो परियोजना उदयपुरको आठ स्थानीय तहमध्ये कटारी नगरपालिकामा सुरु भएको हो । नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले विदेशबाट फर्किएकालाई आर्थिक, सामाजिक, राजनीतिक समस्या समाधानका लागि रेमी परियोजनाले काम गर्ने बताए । 
 
“परियोजनाको सुरुआती चरण सुरु भएको छ”, नगरप्रमुख श्रेष्ठले भने, “वडा नं ५ र ७ मा धेरैजना विदेश जाने गरेको पाइएकाले त्यहाँबाट परियोजना सुरुआत गरेका छौँ ।” परियोजना संयोजक जयन्ती तामाङले विदेशबाट फर्किएकाहरू मनोसामाजिक, आर्थिक, सामाजिक र राजनीतिकरूपमा कसरी समाजमा एकीकरण गर्न सकिन्छ भन्ने क्षेत्रमा काम सुरु भएको बताए । नगरपालिकाभित्र विप्रेषण भित्रिएको देखिए पनि यसको सही सदुपयोग नहुँदा समाजमा एकीकरण भई फर्किएकाहरू बास्न नसक्ने अवस्थाको अन्त्यका लागि परियोजनाले काम सुरुआत गरेको हो । 
 
?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।