डेडिकेटेड र ट्रङ्क लाइन लिएका चार उद्योगको बिजुली काटियो

0
Shares

लामो समयदेखि डेडिकेटेड र ट्रङ्क लाइन प्रयोग गरेवापत विद्युत् महसुल तिर्न अटेर गर्दै आएका केही उद्योगको लाइन शुक्रबार साँझदेखि काटिएको छ ।
 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार मात्रै त्यस्ता लाइनको बिजुली काटेर महसुल उठाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका थिए। उनले ठूला उद्योगको लाइन काटेर राजस्व उठाउन निर्देशन दिए लगत्तै प्राधिकरणले केही उद्योगको लाइन काटिदिएको हो ।
 
साना तथा घरायसी उपभोक्ताले सामान्य महसुल नबुझाउँदा लाइन काट्ने प्राधिकरणले ठूला उद्योगलाई भने छुट दिएको भनेर आलोचना हुँदै आएको थियो । प्राधिकरणका अनुसार, जगदम्बा स्टील, रिलायन्स स्पीनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्ट उद्योगको लाइन काटिएको छ ।
 
प्राधिकरणका अनुसार जगदम्बाले मात्रै चार अर्ब १४ करोड बराबरको महसुल तिर्न बाँकी छ । यस्तै, रिलायन्सले एक अर्ब ९४ करोड, घोराही सिमेन्टले एक अर्ब ३६ करोड बक्यौता भुक्तानी गर्न बाँकी छ । प्राधिकरणका अनुसार अर्घाखाँची सिमेन्टले एक अर्ब ३० करोड बराबरको महसुल बुझाउन बाँकी छ।
 
पटकपटक आग्रह गर्दा बक्यौता तिर्न अटेर गरेकाले उनीहरुको लाइन काटिएको प्राधिकरणले जनाएको छ । महालेखापरीक्षकका पछिल्ला प्रतिवेदनमा समेत बक्यौता महसुल उठाउन पटकपटक प्राधिकरणलाई निर्देशन दिइएको थियो । संसद्का विभिन्न समितिले पनि यसअघि नै महसुलका विषयमा चासो राख्दै तत्काल असुल उपर गर्न निर्देशन दिएका थिए । 
 
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।