अटो बजारको स्थायित्वका लागि नीतिगत अस्थिरता बन्द हुनुपर्छः राजनबाबु श्रेष्ठसँग अन्तरवार्ता


पछिल्लो समयमा बजारमा विद्युतीय सवारी साधनहरुको प्रयोग बढ्दै गएको छ । राज्यले विद्युत खपत तथा इन्धनको आयात विस्थापनका लागि दिएको सहुलियत लगायतका कारण लागत कम पर्दा विद्युतीय सवारी सधानको बजार विस्तार भईरहेको छ । एकपछि अर्को गर्दै नयाँ–नयाँ ब्रान्डका विद्युतीय सवारी साधन नेपाली बजारमा यत्रतत्र गुड्न थालेको देखिने गरेका छन् । नेपालको विद्युतीय सवारी साधनको बजारमा ४० प्रतिशत हिस्सा भारतीय अटोमेकर टाटा मोटर्सका छन् । यसका अलवा कमर्सियल भेहिकलमा एकछत्र राज गरिरहेको टाटा व्यवसाय विस्तारमा भने प्रभावित भईरहेको छ ।

नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता रहेको सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ अटो व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका उपाध्यक्ष समेत हुन् । यही पुस २० र २१ गते नाडाको अधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । उपाध्यक्षबाट अध्यक्षमा नगई नाडाको सबलीकरणका लागि पछि हटेका श्रेष्ठसँग समसामयिक विषयमा नोटबजारका लागि परमेश्वर अधिकारीले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

नेपालमा विद्युतीय कारको बजारीकरणमा तपाईहरुले चालेको कदमलाई कसरी समीक्षा गर्नुहुन्छ ?

सुरुसुरुमा मानिसहरुलाई विद्युतीय कार भन्दा नै एन्जाइटी हुने गथ्र्यो । कारले कति रेन्ज दिन्छ वा पर्फमेन्स कस्तो छ भन्ने विषयले मानिसहरुलाई दुविधामा पारेको थियो । तसर्थ टाटाको नेक्सन लन्च गर्ने समयमा हामीले सबै वर्गलाई समेट्न चाहेनौं किनकी मानिसहरुले इभिलाई विश्वास गर्ने वातावरण बनिसकेको थिएन । अर्कातिर मानिसलाई गाडी किन्न त्यति सहज हुँदैन र त्यो उसको सपना हो । त्यो सपना साकार पार्दा उसलाई निर्धक्क बनाउन पर्छ भन्नेमा ध्यान दिँदा पनि ढिला गरेर इभिको बजार विस्तार भएको हो । किनकी पहिले त इभि के हो भनेर बुझाउन पर्यो ।

सिप्रदीको कुरा गर्दा हामीले सुरुवाती दिनमा ती ग्राहकहरुलाई टार्गेट गर्यौँ जोसँग पहिले नै एउटा कार छ र अर्को कार किन्ने क्षमता समेत छ । यसै गरेर उनीहरु बढ्दो वातावरण प्रदूषणलाई लिएर सचेत पनि छन् । उनीहरु कार्बन उत्सर्जन न्यूनीकरणमा योगदान गर्न चाहन्छन् । हामीले इभि बेच्ने मात्रै लक्ष्य राखेनौं, मोबिलिटी सोलुसनको इकोसिस्टम बनाउनेमा बढी ध्यान दियौं । जसले सेवाग्राहीलाई सजिलो होस् ।
यसै समयमा सरकारको नीति पनि परिवर्तन भइरह्यो । कहिले इभिको ड्युटी धेरै त कहिले थोरै गर्दा हामीलाई अन्यौलको अवस्था बन्यो । यता इकोसिस्टम बनाउन ठूलो इन्भेष्टमेन्ट गर्नुपथ्र्यो, इकोसिस्टमको निर्माण नगरी गाडी ल्याएर पनि त्यसले सार्थकता पाउने थिएन भने नीतिगत अस्थिरताले इकोसिस्टमममा लगानी गर्ने कि नगर्ने भन्ने अवस्था थियो ।

हामीले दीर्घकालीन सोचका साथ देशमा इभिको भविष्य के हुने रहेछ भनेर सोच्न लाग्यौं । देशको लागि इभि फाइदाजनक छ या छैन भनेर हामीले गृहकार्य गर्यौं । नेपालले पेरिस एक्कर्डमा के–कस्तो प्रतिबद्धता जाहेर गरेको छ, जलवायु सम्मेलनहरुमा के प्रतिबद्धता गरेको छ भनेर अध्ययन गर्यौँ । त्यसो गर्दै जाँदा इभि भोलिका दिनहरुमा आवश्यक पर्ने मोबिलिटी सोलुसन हो । नेपालले गरेका प्रतिबद्धतालाई साकार रुप दिन यसले सहयोग गर्छ भन्नेमा पुग्यौं ।

यसका साथै नेपालको सबैभन्दा ठूलो समस्या भनेको व्यापार घाटा थियो र पेट्रोलियम पदार्थको खरिदमा नेपालले ठूलो रकम खर्च पनि गरिरहेको थियो । यसले व्यापार घाटा बढाइरहेको, विदेशी मुद्राको सञ्चिती कमजोर अवस्थामा थियो । अर्कोतिर नेपालमा हाइड्रोपावरको उत्पादन समेत बढ्दै गएको थियो । भावी समयमा इभिको प्रयोग बढ्दै जान्छ भन्ने सोचेर हामीले इकोसिस्टम निर्माणमा लगानी गर्यौँ । कारको बिक्री सुरु गर्दा हामीले चार्जिङ स्टेशन तयार गरिसकेका थियौं । त्यति मात्र नभई हामीले देशभरका १५ वटा वर्कशपलाई एकै पटक इभिमा रुपान्तरण गरेका थियो । हामीले नेपालमा इभि लन्च गदैगर्दा चार्जिङका लागि आवश्यक पर्ने संयन्त्र पनि बनाइसकेका थियौं । सन् २०२१ मा हामीले नेक्सन इभि बजारमा ल्यायौं । पहिलो चरणमा हामीले ९ वटा चार्जिङ स्टेसनको विकास गयौं । अहिले बजारको मागसँगै डिसी फास्ट चार्जर नै २२ वटा पुगेका छन् थप ३ वटा आउँदै छन् । एसी चार्जर २०० वटाभन्दा बढी छन् ।

विस्तारै जब इकोसिस्टम निर्माण भयो । मानिसहरुको एङ्जाइटी समेत हटेर गयो । चार्जिङ स्टेसनको विकास हुँदै गएपछि पर्फमेन्सको चिन्ता समेत भएन । इभि उकालोमा चढ्छ वा चढ्दैन भन्ने समस्या थियो तर अन्यको भन्दा इभिको टर्क बढी थियो । जसका कारण उकालोमा पनि गाडी चल्ने नै भयो । यसरी हामीले टार्गेट गरेको ग्राहकमा आफ्नो अर्को गाडी छाडेर इभि नै चलाउनु पर्ने रहेछ भन्ने भावना स्थापित गरायौं । बजारमा म्यासेज पनि राम्रो गयो र ग्राहकहरु आफैँले अर्डर दिन आउन सुरु गरे, हामीले नेक्सनको पुस मार्केटिङ नै गर्नु परेन । यसरी बजारमा इभिको प्रयोग बढ्दै गयो ।

सन् २०२१ मा नेक्सन र सन् २०२३ मा टियागो लन्चपछि बजार प्रतिक्रिया कस्तो छ ?

इभि नेपाल ल्याउँदा हामीले पहिले नै कार भएका र दोस्रो कार इभि खरिद गर्न इच्छुकलाई टार्गेट गरेका थियाैं । पछिल्लो समयमा इभिको लोकप्रियता बढ्दै गएपछि मानिसहरुले आफ्नो पहिलो कार नै इभि किन्न इच्छा गरिरहेका छन् । हामीले सुरुमा नेक्सन र दोस्रो चरणमा टियागो लन्च गर्यौँ । पहिलो चरणमा नेक्सनले व्यापक सफलता पाएकोमा टियागोले पनि ग्राहकलाई सन्तुष्ट बनायो । अहिले हामीले राम्रो प्रतिक्रिया पाइरहेका छाैं । इभिको प्रयोगले आफ्नो गति समातिरहेको छ भने हामी पनि पूर्ण रुपमा सन्तुष्ट छौं । ग्राहक र हाम्रो सन्तुष्टि मिल्नुमा किफायती रुपमा ग्राहकले सजिलै कार खरिद गर्न सक्नु र टाटाका कार अन्य कारभन्दा कमजोर छैनन् है भन्ने ग्राहकको अनुभवले काम गरेको छ भन्ने लाग्छ ।

धेरै पेट्रोल कारहरुको प्रयोग गरिरहेका मानिसहरु इभिमा आउन इच्छा भए पनि आइरहेका छैनन् नि ?

अहिलेसम्म नेपालमा वातावरण प्रदूषण कम गर्नका लागि मैले आफ्नो खल्तीबाट केही रकम खर्च गर्छु भन्न सक्ने हाम्रो क्षमता बनिसकेको छैन । त्यो नहुँदा मानिसहरुले अहिले चाहने भनेकै मैले कार किन्दा मलाई के फाइदा हुन्छ भनेर हेर्ने हो । यही सोचबाट राज्यलाई के फाइदा भईरहेको छ भन्ने मुख्य कुरा हो, आजको सन्दर्भमा भन्नुपर्दा । अहिले सरकारले इभिको प्रयोग बढाउनका लागि इन्सेन्टिभ दिइरहेको छ, जसले इभिको मूल्य अरुको तुलनामा कम हुन पुगेको छ । यस्तै इभिको मेन्टेनेन्स कस्ट पनि कम छ र फ्यूल कस्ट पनि धेरै छैन ।

अहिले इभि एक किलोमिटर कुदाउन २ रुपैयाँ लाग्छ भने पेट्रोल तथा डिजेलको गाडी चलाउन धेरै खर्च लाग्छ । विद्युत प्राधिकरणको चार्जिङ स्टेशन जाने हो भने झनै सस्तोमा इभि चार्ज हुन्छ । तसर्थ इभि खरिद गर्दा ग्राहकले फ्यूलमा खर्च गर्नुपर्ने रकम पनि बचत हुने भयो भने मेन्टेनेन्स खर्च पनि कम हुने भयो । यसरी अप्रेसन कस्ट कम हुन आउँछ र इभि चलाउन पनि सजिलो छ ।

मेरो विचारमा सरकारले इभिको प्रचार तथा प्रवद्र्धन गर्नका लागि इभिको अलग्गै लाइसेन्सको व्यवस्था गर्नुपर्छ । डिजेल तथा पेट्रोलको गाडी चलाउनभन्दा इभि चलाउन सजिलो छ । साथै पेट्रोल कारहरुको तुलनामा कम मूल्य र मेन्टेनेन्स तथा फ्यूल कस्टको चिन्ता पनि लिनु नपर्ने भएका कारण इभिमा सिफ्ट हुँदा फाइदा हुन्छ । आगामी दिनमा यसको बजार बढ्दा सुविधाहरु पनि थपिँदै जान्छन् ।

अन्य वर्षको तुलनामा यो वर्षमा बजारमा विद्युतीय कारका प्रयोगकर्ताहरुको सङ्ख्या बढ्दै गएको छ । आगामी वर्षमा के होला ?

हामीले ध्यान दिनुपर्ने भनेकै अटो इन्डष्ट्रि यो वर्षमा कसरी अगाडि बढ्छ र अटो क्षेत्रमा इभिको मार्केट सेयर कति छ भन्ने हो । गाडीहरुको बिक्री कस्तो हुन्छ भन्दा पनि मानिसहरुको क्रयशक्ति कस्तो हुन्छ भन्ने मुख्य कुरा हो । दिन प्रतिदिन क्रयशक्ति घट्दो छ र गाडी चढ्ने मानिसहरु बाहिर गइरहेका छन् । तथ्यांक हेर्दा पनि वार्षिक आठ लाख मानिसहरु बाहिरिरहेको हामीले देख्न सक्छाैं । यसरी अटो इन्डष्ट्रि नै कसरी अगाडि बढ्छ भन्नेमा इभिको प्रयोग बढ्छ वा बढ्दैन भन्ने निर्भर हुन्छ ।

अहिले अटो क्षेत्रमा इभि कारहरको हिस्सा ६० प्रतिशत छ । अर्थात १०० वटा कारहर बिक्री हुँदा ६० वटा इभि र ४० वटा पेट्रोल तथा डिजेल कारहरु बिक्री हुने गरेका छन् । विगत वर्षको तुलनामा यो तथ्यांकले इभिको बजार विस्तार भईरहेको छ । र आगामी दिनमा यो अनुपात चाँही घट्दैन भन्ने मेरो बुझाई हो ।

किफायती मूल्यमा टाटाको कार भन्नु भयो, टाटा इभि किन्न चाहनेले कम्तीमा कति मूल्य हाल्नुपर्छ ?

हामीले इभि कारहरु २२ लाखको मूल्यबाट सुरु गरेका थियौं । नेपालीहरु गाडी खरिद गर्दा गाडीको फिचरमा अभ्यस्त भएको देखियो । के कस्ता फिचर छन् भनेर ध्यान दिने र धेरै फिचर भएको नै हेर्ने भएकाले अहिले २८ लाखबाट ग्राहकहरुले टाटाका इभि खरिद गर्न सक्छन् । २२ लाख मूल्यका गाडीमा धेरै फिचर नहुने भएकाले हामीले २८ लाखदेखि विभिन्न मोडल र भेरियण्टमा गाडीहरु उपलब्ध गराइरहेका छौं ।

पछिल्लो समयमा हामीले एक्सप्रेस टी भनेर इलेक्ट्रिक ट्याक्सी पनि लन्च गरेका छौं, जसको प्रतिकृया एकदमै राम्रो आइरहेको छ । यसरी अहिले हामीले कारहरुमा नेक्सन, टियागो, टिगोर र ट्याक्सीमा एक्सप्रेस टी बिक्री गरिरहेका छौं । २८ लाखदेखि माथि आफ्नो आवश्यक्ता अनुसार ग्राहले टाटाका कार खरिद गर्न सक्छन् । विद्युतीय गाडी खरिद गर्न बैंकहरुले पनि प्रवद्र्धनात्मक अभियान सहितका योजना ल्याइरहेको सन्दर्भमा केही बैंकहरुसँग हाम्रो साझेदारी पनि भएको छ । यसले एकैपटक सबै मूल्य हाल्ने नभई किफायती व्याजदरमा फाइनान्स गरेर पनि कार खरिद गर्न सकिन्छ ।

नेपालमा इभिलाई लिएर बनेका नीतिहरु छिटो परिवर्तन हुँदा परेको असरलाई कसरी लिनु भएको छ ?

नीति परिवर्तन भइरहँदा सबैभन्दा बढी मारमा पर्ने भनेकै हामी निजी क्षेत्र र उपभोक्ता नै हो । यसो हुँदा ग्राहकहरुमा कस्तो मानसिकता बसेको छ भने भोलिका दिनमा नीति परिवर्तन भएर महंगो पर्न सक्छ वा अरु केही होला कि भन्ने अन्यौलता रहिरन्छ । यसले इभिमा अहिले उपलब्ध सहुलियत भोलि आउला नआउला भनेर अहिले नै धेरैले इभि किनिरहेका छन् । यही कारणले पनि अहिले इभिको खपत धेरै भईरहेको छ । इभिको बजार हिस्सा तीब्र रुपमा बढ्नुको कारण नै यही हो भन्ने लाग्छ । किनभने अहिले यदाकदा इभिको ड्यूटीमा फेरि फेरबदलको हल्लाले हामी नै अलमलमा छौं भने उपभोक्ताले कम लागतमा इभि किन्न हतार गर्नु स्वभाविक हो ।

अर्को डर वा समस्या भन्नुपर्दा नीतिगत सहजता नभएमा निजी क्षेत्रले अहिले जसरी लगानी गरिरहेको छ त्यसरी लगानी नगर्न पनि सक्छ । इम्पोर्टरहरुको सोचाइ कस्तो छ भने अहिले लगानी गरेर इभि ल्यायो, भोलिका दिनमा नीति परिवर्तन भएर व्यवसाय ठप्प नै हुने हो कि भन्ने छ । तर हामी (सिप्रदी) ले के सोचेका छौँ भने इभि भनेको मोबिलीटि सोलुसन हो र यसलाई दीर्घकालीन रुपमा लैजानुपर्छ, कार खरिद गर्ने ग्राहकलाई खुसी पार्नुपर्छ भन्ने हो । तर नीति परिवर्तन भइरहँदा कसरी अगाडि बढ्ने भन्ने प्रश्न चाहिँ आउँछ ।

अन्ततः हामीले गरेको व्यवसाय नै हो । नाफा कमाउन नै व्यवसाय गर्ने हो र यसमा दीर्घकालिन सोचको कुरा आउँछ । नीतिहरु अस्थिर भइरहँदा समस्या भोग्ने ग्राहक र निजी क्षेत्रले हो । तर देशको लक्ष्य के छ भन्ने पनि ख्याल गर्नुपर्छ । नेपालले कार्बन उत्सर्जन कम गर्ने, हाइड्रोपावरको प्रयोग बढाउने र जिवांश इन्धन (फोसिल फ्यूल) को निर्भरता कम गर्ने भनिरहेको छ । तसर्थ हामीसँग चुनौती र अवसर उत्तिकै छन् । यसमा राज्यले पनि दीर्घकालिन रुपमा व्यवहार गरिदिए राम्रो हुनेथियो । उपभोक्ताको हीत गर्ने दायित्व राज्यको पनि हो र राज्यलाई दीर्घकालिन रुपमा कता लैजाने भन्ने योजना पनि राज्यले नै बनाउनुपर्छ । यसले मात्र समग्र बजारलाई दीगो बनाउँछ । यस्तो नहुँदा समय समयमा समस्याहरु आइरहन्छन्, जुन राम्रो होइन ।

इभिको बजार हिस्सा ६० प्रतिशत छ भन्नुभयो, त्यसमा सिप्रदी कहाँ छ ?

सिप्रदीले एकदमै सही समयमा टाटाका इभिको बिक्री सुरु गरेको थियो । मैले अघि पनि भनेँ कि हामी बजारको प्रतिक्रिया, हाम्रा उत्पादनको माग र ग्राहकको सन्तुष्टिबाट ज्यादै नै खुसी छौं । इभिको अहिलेको बजार हिस्सालाई हेर्दा सिप्रदीको ४३ प्रतिशत हिस्सा छ । यो चानचुने कुरा होइन र टाटा इभिप्रतिको ग्राहकको विश्वासले नै हामीले यो सफलता पाएका हौं ।

बजारमा इभिको रेन्जलाई लिएर बहस हुने गर्छ, तपाईको बुझाईमा खासमा कति रेन्ज उपयुक्त हो ?

कार खरिद गर्दा रेन्ज हेर्ने भनेकै हामीले मूल्यलाई पनि हेर्ने हो । कारहरुमा प्रयोग भएको ब्याट्रीले रेन्ज दिने हो । अहिले पनि बजारमा उपलब्ध कारहरमा ब्याट्रीको मूल्य नै कारको कुल मूल्यको ४० देखि ५५ प्रतिशतसम्म छ । रेन्ज बढाउनका लागि ब्याट्रीको पावर बढाउनुपर्छ । त्यसो गर्दा कारको मूल्य पनि बढ्दै जान्छ ।

बजारमा ४०० देखि ५०० किलोमिटर रेन्जका कारहरु पनि उपलब्ध छन् । त्यही बजारमा २०० देखि ३०० सम्मको रेन्जका कार पनि पाइन्छ । फरक यत्ति हो, कति खर्च गरेर कति रेन्जको कार खरिद गर्ने भन्ने हो । यदि म ४०० किलोमिटर ट्राभल गर्छु भने दुख नपाई गर्न पाउछु वा पाउँदिन, सहज बनाउनका लागि इकोसिस्टम छ वा छैन भनेर जानकार हुनुपर्छ । त्यसैले मेरो बुझाईमा रेन्जको विषय महत्वपूर्ण हो भन्ने लाग्दैन । किनकी अहिले बजारमा गाडीहरु दिनको ४० किलोमिटर वा भनौ बढीमा ६० किलोमिटर गुड्छन् ।

नेपालको हकमा ४०० किलोमिटर रेन्जको कारहरु केही उपयुक्त भएपनि त्यस अनुसारको लागतका लागि ग्राहक तयार नहुन सक्छन् । किनभने सहज रुपमा चार्जिङको व्यवस्था हुँदा रेन्जको विषय गौण हुन्छ । भने अनाकहमा धेरै खर्च किन गर्ने भन्ने हो । अहिलेको समस्या चार्जिङ स्टेशनको हो भन्ने केही प्रयोगकर्ताको बुझाई छ, जुन ठिक हो भन्ने मलाई लाग्दैन । र रेन्जको बहस पनि यसै कारणले भईरहेको छ । भएको के हो भने दशैंको समयमा धेरै मानिस एकै पटक मोबिलाइज हुँदा सहज रुपमा चार्ज गर्न नपाएको अवस्था हो । तर सँधै त्यही अवस्था होइन नि । चाप बढि भएको समयमा चार्जिङ स्टेशन थपिरहेका छौं, तर, ३६५ दिनमा एक दिनका लागि मात्र भनेर नै पुर्वाधार बनाउन अलि असम्भव हुन्छ । यद्यपी आगामी दिनमा यस्ता समस्या पनि कम हुँदै जान्छन् भन्ने मेरो बुझाई हो । सिप्रदीले मात्र नभई अन्य कम्पनी, प्राधिकरणले मानिसहरुको दिमागबाट भय हटाउनका लागि यसमा लगानी बढाइरहेको अवस्था छ ।

इभिका अलावा सिप्रदीको मुख्य सेग्मेन्ट पेट्रोल तथा डिजेलको कमर्सियल भेहिकल हो । अहिलेको अवस्था के छ ?

दुःखका साथ भन्नुपर्छ मेरो ३० वर्षे अनुभवमा अहिले कमर्सियल भेहिकलको बजार खस्किएको अवस्था छ । कमर्सियल भेहिकलमा ट्रक, टिप्पर र प्यासेन्जर भेहिकलका हिस्सा घटिहेको छ । यो सबै चेन इफेक्टका कारणले भईरहेको छ । अहिले नेपालका मुख्य सडकहरु निर्माणको प्रक्रियामा छन् र सडकको दूरावस्थाका कारण मानिसहरु लामो दूरीको यात्रा बस, मिनीबसबाट गर्न खोज्दैनन् ।

अर्को समस्या भनेको कमर्सियल भेहिकल प्रयोग हुने भनेकै पूर्वाधार विकासका कामहरुमा हो । अहिले निर्माण क्षेत्र सुस्ताउँदा कमर्सियल भेहिकलको प्रयोग घटेको छ । निर्माण क्षेत्रमा लगानी घट्दै गएपछि सिमेन्ट उद्योग पूर्ण रुपमा सञ्चालनमा छैनन्, माइनिङ भएको छैन । ट्रक, टिपरले ठूलो मात्रामा बोक्ने भनेकै निर्माण सामाग्री हो । तर अहिले सबै ठप्प छ । यसको चेन इफेक्ट हामीले भोगिरहेका छौं ।

योसँगै नेपालबाट ठूलो मात्रामा मानिसहरु बाहिरिँदा प्यासेन्जर भेइकलको प्रयोग पनि घटिरहेको छ । सामाग्रीको खपत घट्दै गएको छ, मानिसहरु छैनन्, निर्माण क्षेत्र ठप्प छ जसकारण कमर्सियल भेइकलको अवस्था नाजुक छ । सरकारले विकास खर्च लक्ष्य अनुसार गर्न नसक्दा अनि विदेशिनेको संख्या बढ्दा डिमाण्ड घट्नुले अहिलेको नतिजा देखिएको हो । सरकारको खर्च कसरी वृद्धि हुन्छ भन्ने कुरा सबैको चासोको विषय हो । हामीले पनि त्यही पर्खिरहेका छौं । सरकारले विकास खर्च नबढाउञ्जेल अहिलेको बजारको अवस्थामा सुधार आउँदैन, सबै क्षेत्र प्रताडित बनिरहेको अवस्था छ । अरु क्षेत्र चलायमान बन्दै जाने वातावरण बन्यो भने हाम्रो बजार पनि क्रमिक रुपमा सुधारिन्छ भन्ने अपेक्षा हो ।

डिजेल पेट्रोल कारको बजार पनि प्रभावित भएको होला नी ?

यसमा पनि अवस्था सहज छैन । नीतिगत अस्थिरताको असर यहाँ पनि छ । कतिपय बन्देजका कारण पनि ग्राहक तथा बिक्रेता प्रभावित भएका छन् । ५० प्रतिशत डाउन पेमेण्टको थ्रोसहोल्ड ग्राहकको लागि सहज होइन, यो भनेको निषेध गरिएको हो । अहिले मानिससँग ३० लाखको गाडी किन्दा १५ लाख डाउन पेमेण्ट गर्ने क्षमता नभएको अवस्था छ, तर उ गाडी किन्न चाहन्छ र उसको कुनै न कुनै किसिमको व्याकअप छ भने पनि नपाउने अवस्था बनाइयो । यसले बैंक पनि सवारी साधन किन्न कर्जा दिन आनाकानी गर्ने अवस्थामा पुगे । अहिले व्याजदर माथि गएर क्रमिक रुपमा घट्दैछ । यद्यपी उपभोक्ताको साइडमा हेर्ने हो भने सोचेजस्तो सहज अवस्था होइन । यस्तो चौतर्फी रुपमा घेराबन्दीमा परेको बजार कसरी अघि बढ्न सक्छ ? यसको असर त व्यवसायीलाई पनि पर्ने नै भयो । तर म फेरि पनि भन्छु, अहिलेको अटो बजारमा कमर्सियल भेहिकलको समस्या सबैभन्दा ठूलो समस्या हो । ३० खर्बको यो क्षेत्रलाई त्यसै अलपत्र पारेर राख्नु त हुँदैन । यो बिग्रियो भने दशौं लाख बेरोजगार हुन्छन् । यसलाई सरकारले कुनै न कुनै रुपमा सम्बोधन गर्नैपर्छ । नत्र दीर्घकालमा भयानक समस्या उत्पन्न हुन्छ ।

तपाईले नाडामा उपाध्यक्षका रुपमा कार्यकाल बिताउँदाको अनुभव कस्तो रह्यो ?

म पदभन्दा काममा विश्वास गर्ने मान्छे हो । नाडामा म जति समय रहेँ, धेरै महत्वपूर्ण कामहरु गर्न सकियो जस्तो लाग्छ । नाडालाई अलग किसिमले स्थापित गराउन सकियो भन्ने मेरो बुझाई हो । नाडाको सशक्तीकरणमा थप कामहरु भए, जसले गर्दा अहिले सरकारले नीतिगत विषयमा सल्लाह सुझावका लागि नाडालाई प्राथमिकतामा राखेको छ । व्यवसायीहरुको हकहीतलाई समान रुपमा सुरक्षित गराउन जुन किसिमले नाडाले भूमिका खेलिरहेको छ, त्यो प्रशंसनीय छ । यद्यपी सरकारसँगको नीतिगत लबिङमा नाडा अझै सशक्त बनिसकेको छैन । प्रशासनिक तथा अन्य विषयमा नाडाका विषय शतप्रतिशतसम्म सम्बोधन भएका छन् । तर नीतिगतमा २५ प्रतिशत विषय पनि हामीले उठान गरे अनुसार हुन सकिरहेका छैनन् । भोलिका दिनमा नाडालाई त्यो उचाईमा लैजानुपर्ने अवसर र चुनौति त छँदैछ । संस्था विकासको क्रममा केही काम पूरा हुन्छन्, केही थपिन्छन्, त्यो स्वभाविक प्रकृया हो ।

नाडाको प्रादेशिक संरचना तयार भयो, पहिले काठमाण्डौं केन्द्रित नाडा अहिले देशव्यापी बनेको छ । यो पनि उपलब्धि हो भन्ने लाग्छ । आज अटो बजार समस्यामा परिरहेका बेला नाडाको निरन्तरको खबरदारीले केही न केही सुःखद वातावरण बनाउन सकेका छौं । समग्रमा संस्था बलियो हुँदै गएको छ, म उपाध्यक्ष रहँदाको कार्यसमितिले त्यसमा एउटा भए पनि इँटा थपेको छ र आगामी नेतृत्वले त्यसलाई झनै तीब्र बनाउँछ भन्ने अपेक्षा छ ।

अध्यक्षको दाबेदार हुँदै गर्दा बाहिरिने निर्णय गर्नुभयो, वितृष्ण कि सहमतिका लागि हो ?

मैले अघि पनि भनेँ, म पदमा भन्दा कर्ममा विश्वास गर्ने मान्छे हो । के प्रष्ट पारौं भने वितृष्णको कुरा आउने अवस्था आजसम्म कसैले भोग्नु परेको छैन, मैले पनि भोगिन र भालि पनि कसैले भोग्नु पर्दैन । अहिले नाडालाई थप सशक्त बनाउनुपर्नेछ । यस्तो अवस्थामा सहमतिबाट अघि बढौं भनेर म आफैँले पनि पहलकदमी लिएको हो । सहमतिको बाटो हिँड्दा म आफैं नेतृत्वमा पुग्नैपर्छ भन्ने हठ उपयुक्त हुँदैन भन्ने मेरो चेतले मलाई रोकेको हो । आजका दिनमा नाडामा निर्वाचन भयो भने त्यसलाई नाडालाई सखाप बनाउँछ भन्ने अवस्था देखेर नै म सहित अग्रजहरुको पहलमा सहमतिमा जोड दिइएको हो । आज नाडामा शुद्धीकरणको व्यापक आवश्यकता छ, जसलाई सहमतिले मात्र अघि बढाउन सक्छ । शुद्धिकरणको आवश्यकता देखिरहेका बेला म निर्वाचनको माहोलमा गएर संस्थालाई कमजोर बनाउन हुँदैन भन्ने हो ।

म अध्यक्ष बन्दा कसैलाई असहज हुन्न भने सहमतिबाट अध्यक्ष बन्छु भनेर मैले भनेको पनि हो । पूर्व अध्यक्षहरु, वर्तमान अध्यक्ष तथा प्रत्यासी अरु साथीहरुसँग पनि कुरा नभएको होइन । मलाई अघि बढ्नुपर्छ भन्ने टीमको स्पिरिट बलियो थियो । तर म नै अध्यक्ष हुनुपर्छ भन्ने मानसिकतामा बसिन । संस्था अघि बढ्न कोही पनि सक्षम व्यक्ति आउनुपर्छ भन्नेमा नै मेरो जोड रह्यो । पहिले हामीले गरेका कतिपय सहमति, आफूले पाएको सहयोग जस्ता कुराको पनि सम्मान गर्नु पर्यो नि । सबै विषयलाई हेरेर विधान संशोधनबाट अन्य प्रत्यासी साथीहरुलाई अघि बढ्न र नाडाको सबलीकरणका लागि म पछि हटेको हुँ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।