हिमालयन रि इन्स्योरेन्सको आईपीओ बाँडफाँड, ३० कित्तासम्म आवेदन दिनेले मागे जति नै सेयर हात पारे


हिमालयन रि इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। कम्पनीको आईपीओ  बुधबार बिहान १० बजे बाँडफाँड भएको हो।

कम्पनीको आईपीओमा कुल १५ लाख ७३ हजार २१९ जनाले आवेदन दिएका थिए। सोमध्ये १५ लाख ६४ हजार ५६४ आवेदन स्वीकृत भएको छ भने ८ हजार ६५५ आवेदन रद्द भएको छ ।

स्वीकृत आवेदनमध्ये १० देखि ३० कित्तासम्म आवेदन दिने आवेदकले आवेदन दिएजत्ति शेयर प्राप्त गरेका छन्। ३० कित्ताभन्दा माथि आवेदन दिनेलाई गोलाप्रथामा सहभागी गराएर गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको छ ।

गोलाप्रथाबाट २ लाख ९० हजार २१० कित्ता शेयर ३० कित्ताभन्दा बढी आवेदन दिने लगानीकर्ताहरुलाई बाँडफाँड गरिएको छ । जस अनुसार २९ हजार २१ आवेदकले थप १० कित्ता अर्थात ४० कित्ता सेयर प्राप्त गरेका छन्।

कम्पनीले मंसिर २७ गतेदेखि पुस १ गतेसम्म प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सर्वसाधारणका लागि २ करोड ४९ लाख कित्ता शेयर निष्काशन गरेको थियो।

रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई ‘इक्राएनपी आइआर ए’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित रहेको जनाउँछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।