वैदेशिक रोजगारीको लागि बाहिरिनेको संख्या घट्यो, प्रमुख गन्तव्य यूएई र साउदी अरेबिया

0
Shares

चालु आर्थिक वर्षको मंसिरको तुलनामा पुस महिनामा वैदेशिक रोजगारीका लागि बाहिरिने नेपालीको संख्यामा कमी आएको छ । वैदेशिक रोजगार विभागका अनुसार मंसिरको तुलनामा पुसमा विदेशिनेको संख्या ५ हजार ४६३ जनाले घटेको हो ।

विभागका अनुसार पुस महिनामा ६५ हजार ८१३ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् । जसमा ५९ हजार ७२९ पुरूष र ६ हजार ८४ जना महिला रहेका छन् । ३४ हजार ४१५ जनाले श्रम स्वीकृति मात्रै लिएका छन् । जसमा ३० हजार ३१७ जना पुरूष र ४ हजार ९८ जना महिला रहेका छन् ।
मंसिर महिनामा ६४ हजार ३४२ जना पुरुष र ६ हजार ९३४ जना महिला गरी ७१ हजार २७६ जनाले श्रम स्वीकृती लिएका थिए ।

यता, गत वर्षको पुुसको तुलनामा भने यो वर्ष विदेशिने नेपालीको संख्यामा वृद्धि भएको पाइएको छ । गत आर्थिक वर्ष २०७९/८० को पुस महिनामा ६५ हजार ४६४ जना विदेशीएका थिए । जसमा ६० हजार ४३१ जना पुरुष रहेका छन् भने ५ हजार २३ जना महिला रहेका छन् । मुलुकभित्र लगानी गरेर आयआर्जन गर्न सकिन्छ भन्ने विश्वासको वातावरण नहुँदा देशका युवाहरु विदेशीनु परेको श्रमविज्ञहरुले बताएका छन् ।

सरकारले पुस १९ गतेदेखि रुस र युक्रेनबिचको युद्धका कारण ती दुवै देशमा वैदेशिक रोजगारीका लागि जान प्रतिबन्ध लगाएको थियो । त्यसकारण पुस महिनामा रुसमा २ जना नेपाली मात्रै गएको विभागको तथ्यांकले देखाएको छ । उनीहरुले प्रतिबन्ध लगाउनु पूर्व 1`नै श्रम स्वीकृती लिएको विभागले जनाएको छ । २ जना मध्ये एक जनाले व्यक्तिगत श्रम स्वीकृति लिएका छन् भने एक जनाले पुनः श्रम स्वीकृति लिएका हुन् ।

प्रतिबन्ध लगाउनु पूर्व अर्थात मंसिरमा रुसका लागि ४० जनाले श्रम स्वीकृती लिएर विदेशीएका थिए । ४० जना मध्ये ३५ जनाले श्रम स्वीकृति लिएका थिए भने ५ जनाले मात्रै पुनः श्रम स्वीकृति लिएका थिए । युक्रेनको लागि भने कसैले पनि श्रम स्वीकृती नलिएको विभागले जनाएको छ ।

नेपालीको पहिलो रोजाई युएई

पछिल्लो समय यूएई नेपालीहरूका लागि प्रमुख रोजगारीको गन्तव्य बन्दै आएको छ । वैदेशिक रोजगार विभागका अनुसार पुस महिनामा १६ हजार ३८५ जनाले यूएई जानका लागि श्रम स्वीकृति लिएका हुन् । जसमा १३ हजार ८६० पुरुष र २ हजार ५२५ जना महिला छन् । यूएईको लागि १० हजार ४६ जनाले श्रम स्वीकृति लिएका हुन् भने ६ हजार ३३९ जनाले पुनः श्रम स्वीकृति लिएका हुन् ।

यद्यपी मंसिरको तुलनामा पुस महिनामा युएईमा वैदेशिक रोजगारीको जानेको संख्यामा २ हजार १०८ जनाले कमी आएको छ ।

मंसिरमा युएईका लागि १८ हजार ४९३ जनाले श्रम स्वीकृति लिएका थिए । जसमा १५ हजार ९७८ जना पुरुष र २ हजार ५१५ जना महिला रहेका थिए । मंसिरमा १० हजार ४९६ जनाले श्रम स्वीकृति लिएका थिए भने ७ हजार ९९७ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।

दोस्रो स्थानमा साउदी अरेबिया

वैदेशिक रोजगारीको लागि जाने नेपालीको रोजाइमा यूएई पछि दोस्रो स्थान साउदी अरेबिया परेको छ । पुस महिनामा साउदी अरेबियामा जानको लागि १४ हजार ३०७ जना नेपालीले श्रम स्वीकृती लिएका छन् । जसमा १४ हजार २१५ जना पुरुष रहेका छन् भने ९२ जना महिला रहेका छन् । साउदी अरेबियाका लागि ८ हजार ६२३ जनाले श्रम स्वीकृति लिएका हुन् भने ५ हजार ५९२ जनाले पुनः श्रम स्वीकृति लिएका हुन् ।

मंसिरको तुलनामा पुसमा श्रम स्वीकृती लिनेको संख्यामा वृद्धि भएको छ । मंसिर महिनामा १३ हजार ८८३ जना श्रम स्वीकृती लिएका थिए । जसमध्ये १३ हजार ८८७ जना पुरुष थिए भने ९६ जना महिला रहेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।