ज्योति ग्रुपबाट खोसिएको हिरो मोटोकर्पको डिलरशीप चौधरी ग्रुपमा, नेपालमै एसेम्ब्लिङ प्लाण्ट खोल्ने


हिरो मोटोकर्पले चौधरी ग्रुप अन्तरगतको सिजी मोटर्सलाई हिरो मोटोकर्पको आधिकारिक बिक्रेता चयन गरेको छ । हिरो माटोकर्पले एक विज्ञप्ति जारी गर्दै नेपालका लागि चौधरी ग्रुपको सिजी मोटर्सलाई नेपालका लागि आफ्नो आधिकारिक बिक्रेता नियुक्त गरिएको जनाएको हो ।

यस अघि ज्याती ग्रुप अन्तरगतको नेपाल जनरल मार्केटिङ (एनजीएम) नेपालका लागि हिरो मोटोकर्पको आधिकारिक बिक्रेता रहेकोमा गत वर्षदेखि उक्त सहकार्य टुटेको थियो । सन् १९८६ देखि ज्योती ग्रुप अन्तरगतको स्याकार कम्पनीले हिरो होण्डाको आधिकारिक बिक्रेताका रुपमा काम गर्दै आएकोमा सन् २०१४ मा होण्डा र हिरो अलग भएसँगै ज्योती समुहमा पनि विभाजन भई होण्डा स्याकार ट्रेडिङसँग र हिरो एनजीएमममा गएको थियो ।

गत फागुनमा हिरो मोटोकर्पले औपचारिक रुपमा नै एनजीएमसँगको सहकार्य समाप्त भएको घोषणा गरेको थियो । अपेक्षित रुपमा बजार बिस्तार गर्न नसकेको, हिरोका उत्पादनको नेपालमा बिक्री बितरणमा कमी आएको जस्ता कारण देखाउँदै हिरो मोटोकर्पले बिक्रेताबाट एनजीएमलाई हटाउन खाजेको भएपनि उक्त प्रकृया बिवादका रुपमा लामो समय अडिएको थियो ।

हिरो माटोकर्पका अनुसार चौधरी ग्रुप नेपालको सन्दर्भमा अग्रणी व्यवसायिक घराना भएको, १५ हजारभन्दा बढी कर्मचारी सञ्जालमा रहेको, विश्वका १६० भन्दा बढी कम्पनी तथा १२३ ब्राण्डसँगको नेटवर्कमा प्रत्यक्ष जोडिएका कारण सिजी मोटर्सलाई आधिकारिक बिक्रेता चयन गरिएको हो ।

हिरो मोटोकर्प र सीजी मोटर्सले नेपालमा हिरोका उत्पादनहरू एसेम्बल गर्नको लागि अत्याधुनिक ग्रीनफिल्ड सुविधा स्थापना गर्ने पनि विज्ञप्तिमा उल्लेख छ । यसले चौधरी ग्रुपको देशप्रतिको प्रतिबद्धतालाई झल्काउने र प्लाण्ट सञ्चालनले नयाँ लगानी ल्याउने, रोजगारीका अवसरहरू सिर्जना गर्ने विश्वास हिरो मोटोकर्पले लिएको छ । नवलपुर जिल्लामा हिरोका उत्पादनको प्लाण्ट तयार हुने बताएको हिरो मोटोकर्पले आगामी मार्चदेखि एसेम्बलको काम सुरु हुने र प्लाण्टको वार्षिक क्षमता ७५ हजार युनिट हुने बताएको छ ।

सहकार्यको बारेमा टिप्पणी गर्दै हिरो मोटोकर्पका ग्लोबल बिजनेस हेड सञ्जय भानले नेपालमा चौधरी ग्रुपसँग साझेदारी गर्न पाउँदा उत्साहित भएको बताएका छन् । विशेषज्ञता र विविध व्यापारिक ज्ञानको साथमा चौधरी समूहले भारतको हिरो मोटोकर्पको सञ्चालनलाई टेवा पुग्ने विश्वास पनि उनले लिएका छन् । उनले नेपाल हिरोका लागि महत्त्वपूर्ण बजार भएको र ग्राहकहरूलाई उत्कृष्ट उत्पादन, सेवा र अनुभवहरू उपलब्ध गराउने निरन्तरको प्रयासलाएै चौधरी ग्रुपले सार्थक बनाउने उनको विश्वास छ । आफ्नो बजार थप सुदृढ गर्ने र बजारलाई उत्साहित बनाउन धेरै नयाँ उत्पादनहरू ल्याउने योजनामा हिरो माटोकर्प रहेको बताउँदै उनले नयाँ साझेदार सिजी मोटर्ससँग बजारमा आफ्नो उपस्थिति विस्तार हुनेमा विश्वस्त रहेको र सहकार्यलाई सुदृढ पार्न तत्पर रहेको बताएका छन् ।

यता चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले विश्वव्यापी रूपमा मोटरसाइकल र स्कुटरको अग्रणी निर्माताको रूपमा चिनिने हिरो मोटोकर्पसँगको सहकार्यको घोषणा गर्न पाउँदा हर्षित भएको बताएका छन् । यो साझेदारीले सिजी मोटर्सको अटोमोटिभ बजारमा पुनः प्रवेशको महत्वाकांक्षी योजना सम्भव भएको उनको भनाई छ । हिरो मोटोकर्पका उत्पादन र सेवाहरूको लाभ उठाउँदै स्थानीय बजारको गतिशीलतासँग व्यवसायको वृद्धिलाई अगाडि बढाउन सहज हुने उनको विश्वास छ । “हामी यस सहकार्यले ब्रान्डको उपस्थितिलाई महत्त्वपूर्ण रूपमा सुदृढ र पुनस् परिभाषित गर्ने विश्वास लिएर एक अत्याधुनिक एसेम्बली इकाईको स्थापनाका लागि तत्पर छौं,” चौधरीले भनेका छन् ।

हिरो मोटोकर्पका एक्स प्लस ट्वीन्स, विभिन्न भेरिण्टका एक्सट्रीम जस्ता इन्ट्री लेभलदेखि प्रिमियम टू(ह्वीलर्स सम्मको फराकिलो पोर्टफोलियो सम्मिलित रहेको जनाउँदै चौधरी ग्रुपले स्ीलेण्डर, ग्लेमर, एचएफ डिलक्स मोडलका मोटरसाइकल तथा डेस्टिनी, मेट्रो एज, प्लेजर लगायतका स्कूटरको बिक्री वितरणलाई आक्रामक बनाउने जनाएको छ ।

हिरो माटोकर्पको उदयीमान मोबिलिटी ब्राण्ड भिडा इलेक्ट्रिक स्कूटरलाई भारत बाहिर लैजाने हिरो मोटोकर्पले जनाएको छ । युरोप, एशिया र ल्याटिन अमेरिकी राष्ट्रहरुमा उक्त स्कूटर निकट भविष्यमा नै लञ्च गर्ने पनि हिरो मोटोकर्पले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।