नेपाल बंगलादेश बैंकले ९ महिनामा कमायो एक अर्ब १४ करोड खुद नाफा

0
Shares

नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ५४.६५ प्रतिशतले बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ। व्यवसाय विस्तारमा सुधार गरेको बैंकको खराब कर्जाको आकार भने बढेको छ।

चुक्ता पूँजी यथावत रहेको बैंकको जगेडा कोष,निक्षेप संकलन र कर्जा प्रवाहमा सुधार देखिएको छ । गत आवको चैतको तुलनामा बैकले कोषको लागत र आधार ब्याजदर घटाएको छ । यस अवधिमा बैंकको प्रतिशेयर आमदानी र नेटवर्थमा सुधार देखिएको छ ।
बैंकले चालू आर्थिक वर्षको ९ महिना अवधिमा एक अर्ब १४ करोड खुद नाफा गरेको छ । जुन गत वर्षको यसै अवधिको तुलनामा ५४.६५ प्रतिशत धेरै हो । गत वर्षको तेस्रो त्रैमासमा बैंकको खुद नाफा ७३ करोड ८० लाख थियो । यस अवधिमा बैंकको वितरण योग्य नाफा ६० करोड २५ लाख छ ।

समीक्षा अवधिमा बैंकले कर्जा लगानीलाई भन्दा निक्षेप संकलनमा कमजोर देखिएको छ । बैंकको निक्षेप १७ प्रतिशतले बढ्दा कर्जा २६ प्रतिशतले बढेको छ । जसको सिसिडि अनुपात ७८.५ प्रतिशत छ ।

चालू आवको चैत मसान्तसम्म बैंकले ५६ अर्ब ६ करोड निक्षेप संकलन गरी ५१ अर्ब ५२ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। यस बाट बैंकले २ अर्ब ११ करोड खुद ब्याज आम्दानी गरेको छ भने संचालन मुनाफा २३ प्रतिशतले बढाएको छ ।

बैंकको चुक्ता पूँजी ८ अर्ब ८ करोड ८२ लाख रुपैयाँमा स्थिर रहदा प्रतिशेयर आम्दानीमा सामान्य सुधार आएको छ । गत वर्षको चैतमा १२ रुपैयाँ १७ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी चालू आवको यसै अवधिमा बढेर १८ रुपैयाँ ८२ पैसा कायम भएको छ । बैंकको जगेडा कोषमा तीन अर्ब ८९ करोड रुपैयाँ सञ्चित छ ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ १० पैसा र मूल्य आम्दानी अनुपात ११.२६ गुणा छ ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपातमा वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमासिक अवधिमा बैंकमा १.७७ प्रतिशत रहेको खराब कर्जा बढेर १.८६ प्रतिशत पुगेको छ ।

बैंकको कोषको लागत र आधार ब्याजदर दुबै घटेको छ । बैंकको कोषको लागत ७.६६ प्रतिशत र आधार ब्याजदर १०.६९ प्रतिशतमा झरेको छ ।