सिंगटी हाइड्रो इनर्जीले बोलायो साधारण सभा

0
Shares

शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको सिंगटी हाइड्रो इनर्जी लिमिटेडले साधारण सभा बोलाएको छ । माघ ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले फागुन १ गते १४औं वार्षिक साधारण सभा आह्वान गर्ने निर्णय गरेको हो ।

सभा धुम्वाराही भेन्यु, धुम्वाराही, काठमाडौंमा विहान ११ बजे सभा सुरु हुनेछ । सभाले आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्तीको विषय टुङ्ग्याउनेछ । यसैगरी हकप्रद जारी गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय सभाले गर्नेछ ।

सिंगटी हाईड्रो इनर्जी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट कुनैपनि लाभांश वितरणको प्रस्ताव भने गरेको छैन ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ १८ गते एकदिन बुकक्लोज गर्ने भएको छ । बुकक्लोजको आधारमा माघ १७ गते बुधबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट पुस ११ गते स्वीकृति पाइसकेको छ । हकप्रद निष्कासन प्रयोजनका लागि कम्पनीले बुकक्लोज पुस २२ गते आइतबार बुकक्लोज पनि गरिसकेको छ । बुकक्लोजको आधारमा पुस १९ गते बिहीबारसम्म कायम सेयरधनीहरूले मात्र कम्पनीको शतप्रतिशत हकप्रद सेयर खरीद गर्न सक्नेछन् । हकप्रद सेयर निष्कासनको मिति भने हालसम्म तय भएको छैन् ।

कम्पनीको हाल चुक्ता पुँजी १ अर्ब ४५ करोड रूपैयाँ छ । शतप्रतिशत हकप्रद सेयर निष्कासन तथा बाँडफाँट पछि कम्पनीको २ अर्ब ९० करोड रूपैयाँ कायम हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।