टेलिकम र सुरक्षण मुद्रण केन्द्रका पूर्व प्रमुख पौडेलद्धय पक्राउ


भ्रष्टाचारको आरोप लागेका नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन् । भ्रष्टाचारको मुद्धा दायर भइसकेका दुबै जना पौडेलद्धयमाथि गैरकानूनी सम्पत्ति आर्जनको उजुरीसमेत परेको थियो ।

उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार नियन्त्रणमा लिएको हो । अख्तियारले उनीहरुको निवासबाट केही काजगातपनि बरामद गरेको जनाएको छ । पक्राउ परेका दुवैजनालाई भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतमा उपस्थित गराउने तयारी अख्तियारले गरेको छ ।

गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धानको सिलसिलामा बयान दिन नआएका उनीहरुलाई अख्तियारले भ्रष्टाचार गरेको भन्दै बिगो माग सहित मुद्धा दायर गरेको थियो । २०८० वैशाखमा विकल पौडेल र असोज १५ मा सुनिल पौडेल बिरुद्ध अख्तियारले भ्रष्टाचार मुद्धा दायर गरेको थियो । उनी बिरुद्ध २३ करोड २७ लाख रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भएको थियो ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रमा हुँदा पेमेन्ट गेटवे खरिदका क्रममा आर्थिक अनियमितता गरेको आरोप सहित अख्तियारले टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

सुरक्षण मुद्राणसँग सम्बन्धित उपकरण खरिदमा आर्थिक अनियमितता गरेको भन्दै अख्तियारले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलका विरुद्ध ७० करोड रुपैयाँ बिगो दाबी गर्दै गत बैशाखमा मुद्दा दायर गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।