शिखरले सर्वाधिक बीमाशुल्क संकलन गर्दा नेशनल पुछारमा, साढे ३ प्रतिशतले खुम्चियो निर्जीवन बीमा व्यवसाय

0
Shares

चालु आर्थिक वर्ष २०८०–८१ को ६ महीनामा सञ्चालनमा रहेका चौध निर्जीवन बीमा कम्पनीहरुले १९ अर्ब ३९ करोड ६० लाख २१ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । पुसमहीनासम्म कम्पनीहरुले १४ लाख २१ हजार ७६ ओटा बीमालेख जारी गरेका उक्त रकम संकलन गरेका हुन् । 

गत आवको पुससम्म तत्कालीन अवस्थामा कायम १८ ओटा निर्जीवन बीमक कम्पनीहरुले १३ लाख ९५ हजार ३२ ओटा बीमालेख बिक्रीबाट २० अर्ब ८ करोड २५ लाख १ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए । समीक्षा अवधिमा निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ३.४२ प्रतिशत अर्थात ६८ करोड ६४ लाख ७९ हजार रुपैयाँले घटेको हो । २०७९ पुसमहीनासम्मको जारी बीमालेख सङ्ख्या २६ हजार ४४ ओटाले बढेपनि बीमाशुल्क रकम भने घटेको हो ।

तथ्याङ्क अनुसार २०८० पुस महीनामा मात्रै कम्पनीहरुले २ लाख ५९ हजार ८१५ ओटा बीमालेखबाट ३ अर्ब ६७ करोड ५० लाख ६ हजार रुपैयाँ प्रिमियम संकलन गरेका छन् । गत आवको सोही अवधिमा २ लाख ४७ हजार ७६८ वटा बीमालेखबाट ४ अर्ब १० करोड ४० लाख २० हजार रुपैयाँ प्रिमियम संकलन भएको थियो ।

पुसमा घट्यो निर्जीवन बीमाशुल्क संकलन, ३ अर्ब ६७ करोड संकलन हुँदा शिखरको सर्वाधिक

नेपाल बीमा प्राधिकणको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको पुसमसान्तको तुलनामा ८ वटा निर्जीवन बीमा कम्पनीको व्यवसाय बढेको छ भने ६ वटाको बीमा व्यवसायमा गिरावट आएको छ । शिखर इन्स्योरेन्सले २०८० पुस महीनामा सबैभन्दा धेरै २ अर्ब ४५ करोड ७ लाख ६४ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ भने नेशनल इन्स्योरेन्सले सबैभन्दा कम ६१ करोड ५५ लाख ७१ हजार रुपैयाँ मात्र संकलन गरेको छ ।

पुस मसान्तसम्ममा ८ को बढ्दा ६ ओटाको बीमाशुल्क संकलन घट्यो

सञ्चालनमा रहेका चौध निर्जीवन बीमा कम्पनीमध्ये पुसमा ८ कम्पनीले संकलन गरेको बीमाशुल्क अघिल्लो पुसको तुलनामा बढेको छ भने ६ ओटाको घटेको छ । समीक्षा अवधिमा राष्ट्रिय बीमा कम्पनीको बीमाशुल्क सबैभन्दा धेरै ५०.७५ प्रतिशतले घटेको छ । यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको १८.३२ प्रतिशत, युनाइटेड अजोडको १२.७९ प्रतिशत, शिखर इन्स्योरेन्सको ७.६० प्रतिशत, सगरमाथा लुम्बिनीको ४.९७ प्रतिशत र नेपाल इन्स्योरेन्सको बीमाशुल्क रकम ५.४७ प्रतिशतले घटेको हो ।

२०८० पुस महीनामा सबैभन्दा धेरै बीमाशुल्क संकलन गरेको शिखर इन्स्योरेन्सले २ अर्ब ४५ करोड ७ लाख ६४ हजार रुपैयाँ उठाएकाे छ । यसैगरी सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स (सलिको) ले २ अर्ब ३४ करोड ७१ लाख ६७ हजार रुपैयाँ र तेस्रो स्थान ओगटेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ९७ करोड २६ लाख १८ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

बीमाशुल्क संकलनका आधारमा तेह्रौं स्थानमा रहेको राष्ट्रिय बीमा कम्पनीले पुससम्ममा ६९ करोड ३३ लाख ५६ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यसैगरी युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ३० करोड ६४ लाख ७७ हजार रुपैयाँ र नेपाल इन्स्योरेन्सले ७५ करोड २ लाख ५८ हजार रुपैयाँ निर्जीवन बीमाशुल्क आर्जन गरेको छ । पुससम्मको बीमाशुल्क संकलनका आधारमा युनाइटेड अजोड सातौं तथा नेपाल इन्स्योरेन्स बाह्रौं स्थानमा छ ।

प्राधिकरणको तथ्याङ्क अनुसार पुस मसान्तसम्ममा दि ओरियन्टल इन्स्यारेन्सले सर्वाधिक ३३.३१ प्रतिशतले बीमाशुल्क संकलन वृद्धि गर्दै ९३ करोड ५१ लाख २३ हजार रुपैयाँ संकलन गरेको छ । बीमाशुल्क संकलनका आधारमा दि ओरियन्टल इन्स्यारेन्स एघारौं स्थानमा रहेको छ । यसैगरी  सबैभन्दा कम बीमाशुल्क संकलन गरेकाे नेशनल इन्स्योरेन्सले दोस्रो ठूलो वृद्धि गरेको छ । गत पुसको तुलनामा २४.५९ प्रतिशतले बीमाशुल्क बढाएपनि कम्पनीले २०८० पुससम्ममा ६१ करोड ५५ लाख ७१ हजार रुपैयाँ मात्र बीमाशुल्क संकलन गरेको छ ।

निर्जीवन बीमा कम्पनीहरूद्वारा संकलित बीमाशुल्क ( रू. लाखमा)
 बीमा कम्पनी २०८० पुस मसान्तसम्म  २०७९ पुस  मसान्तसम्म  अन्तर %
Shikhar Insurance 24507.64 26523.48 -7.60
Sagarmatha Lumbini Insurance 23471.67 24699.93 -4.97
Siddhartha Premier Insurance 19726.18 24151.28 -18.32
Himalayan Everest Insurance 16774.09 15081.79 11.22
IGI Prudential Insurance 16612.40 15512.81 7.09
Neco Insurance 16129.00 15458.47 4.34
United Ajod Insurance 13064.77 14980.07 -12.79
NLG Insurance 12530.36 12038.47 4.09
Sanima GIC Insurance Company 11502.55 10164.57 13.16
Prabhu Insurance 9698.47 8245.06 17.63
The Oriental Insurance 9351.23 7014.51 33.31
Nepal Insurance 7502.58 7936.70 -5.47
Rastriya Beema Company Limited 6933.56 14077.11 -50.75
National Insurance 6155.71 4940.75 24.59
Total 193960.21 200825.00 -3.42

 

प्राधिकरणको तथ्याङ्क अनुसार पुससम्ममा प्रभु इन्स्योरेन्सको बीमशुल्क संकलन १७.६३ प्रतिशत, सानिमा जीआईसी इन्स्योरेन्सको १३.१६ प्रतिशत र हिमालयन एभरेष्ट इन्स्योरेन्सको ११.२२ प्रतिशतले बढेको छ । बीमाशुल्क संकलनका आधारमा दशौं स्थानमा रहेको प्रभु इन्स्योरेन्सले पुस मसान्तसम्ममा ९६ करोड ९८ लाख ४७ हजार रुपैयाँ, नवौं स्थानमा रहेको सानिमा जिआईसी इन्स्योरेन्सले १ अर्ब १५ करोड २ लाख ५५ हजार रुपैयाँ र चौथो ठूलो प्रिमियम उठाएको हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ६७ करोड ७४ लाख ९ हजार रुपैयाँ संकलन गरेको छ ।

यस्तै आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको पुस मसान्तसम्म संकलित बीमाशुल्क अघिल्लो पुसको तुलनामा ७.०९ प्रतिशत, नेको इन्स्योरेन्सको ४.३४ प्रतिशत र एनएलजी इन्स्योरेन्सको ४.०९ प्रतिशत बढी हो । यस अवधिसम्ममा बीमाशुल्कका आधारमा पाँचौं ठूलो रहेको आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ६६ करोड १२ लाख ४० हजार रुपैयाँ, छैठौं स्थानमा रहेको नेको इन्स्योरेन्सले १ अर्ब ६१ करोड २९ लाख रुपैयाँ र पुससम्म संकलित बीमाशुल्कका आधारमा आठौं स्थान सुरक्षित गरेको एनएलजी इन्स्योरेन्सले यस अवधिसम्ममा १ अर्ब २५ करोड ३० लाख ३६ हजार रुपैयाँ संकलन गरेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।