विदेशी लगानीमा लचक बन्दै केन्द्रीय बैंक, नेप्सेमा सूचीकृत तथा रुग्ण उद्योगको सेयर लगानीमा थप सहज

0
Shares

सरकारले आगामी बैशाखमा तेस्रो लगानी सम्मेलनका तयारी गरिरहँदा केन्द्रीय बैंकले पनि विदेशी लगानी सम्बन्धी नीति खकुलो बनाउन थालेको छ । केन्द्रीय बैंकले विदेशी लगानी तथा ऋण व्यवस्थापन विनियमावलीको संशोधन गर्दै विदेशी लगानीको प्रक्रिया थप सरल बनाएको हो ।

नेपाल राष्ट्र बैंकले नियमावली संशोधन गरेर सेयर स्वामित्व परिवर्तन गरेर विदेशी लगानी भित्र्याउन समेत केन्द्रीय बैंकको स्वीकृति नचाहिने व्यवस्था गरेको छ । यसरी सेयर स्वामित्व परिवर्तन नै गरेर विदेशी लगानी भित्र्याउँदा नेपाली सेयरधनीको स्वामित्व अनुपात घट्न नहुने व्यवस्था गरेको छ । त्यसैगरी धितोपत्र बजारमा सूचीकृत र औद्योगिक व्यवसाय ऐन २०७६ अनुसारको रुग्ण उद्योगमा सेयर स्वमित्व परिवर्तन हुनेगरी विदेशी लगानी ल्याउन केन्द्रीय बैंकको स्वीकृति चाहिँदैन । यसभन्दा अघि सेयर स्वामित्व परिवर्तन हुने गरी विदेशी लगानी भित्र्याउन केन्द्रीय बैंकको स्वीकृति अनिवार्य थियो ।

विनियमावली अनुसार विदेशी लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट विदेशी लगानीको स्वीकृति प्राप्त गरे पश्चात सोबापतको विदेशी मुद्रा नेपाल पठाउन केन्द्रीय बैंकको पूर्व स्वीकृति अनिवार्य छैन । तर, विदेशी लगानी स्वीकृत भएपछि भित्र्याउन पूर्व लिखित जानकारी दिनुपर्छ ।

त्यसैगरी विनियमावलीमा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७९ बमोजिम तोकिएको अवधिभित्र विदेशी लगानी भित्र्याउन नसकेमा विदेशी लगानी स्वीकृत गर्ने निकायबाट अवधि थप गरिएको स्वीकृति समेत पेश गर्नुपर्ने व्यवस्था थप गरिएको छ । यसअघि समय अवधि थप गर्ने व्यवस्था थिएन । नेपाल भित्रिएको विदेशी लगानी बापतको रकम बैंक तथा वित्तीय संस्थाले आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित कम्पनी वा उद्योगको खातामा जम्मा गरिदेने व्यवस्था विनियमावलीमा छ । विनियमावली यो प्रक्रिया पूरा गरेका सुचीकृत कम्पनी तथा रुग्ण उद्योगको सेयर स्वामित्व परिवर्तन हुने गरी भित्रिएको विदेशी लगानी बापतको रकम खातामा जम्मा हुने व्यवस्था विनियमावलीमा छ ।

संशोधित विनियमावली अनुसार सेयर स्वामित्व परिवर्तन हुने गरी विदेशी लगानी भित्र्याउँदा नेपाली उद्योगमा कायम रहेका कुल नेपाली सेयरधनीहरुको सेयर धारण अनुपात नघट्ने गरी हुनुपर्छ । त्यसैगरी धितोपत्र बजारमा सूचीकृत कम्पनीमा र औद्योगिक व्यवसाय ऐन, २०७६ बमोजिमको रुग्ण उद्योगमा सेयर स्वामित्व परिवर्तन हुने गरी वैदेशी लगानी लगानी ल्याउन सकिन्छ ।

विदेशी मुद्रा नेपाल भित्रिएपछि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले प्रमाणपत्र जारी गर्नुपर्ने व्यवस्था गरेको छ । विनिमय दरको कारण स्वीकृत विदेशी लगानी रकमभन्दा बढी भित्रिएको रकम फिर्ता पठाउन अनिवार्य नहुने व्यवस्था विनियमावलीलले गरेको छ । यस्तो बढी भित्रिएको रकम समेतलाई खाम्ने गरी विदेशी लगानी स्वीकृति गर्ने निकायबाट विदेशी लगानीको स्वीकृति प्राप्त भएपछि लेखाङ्कन सम्बन्धी अन्य व्यवस्थाहरुको पालना हुने गरी विदेशी लगानीको रुपमा लेखाङ्कन गर्न सकिनेछ ।

स्वीकृत विदेशी लगानीको रकमभन्दा बढी रकम समेत विदेशी लगानीको रुपमा भित्रिन सक्नेछ । यस्तो बढी भित्रिएको रकमलाई खाम्ने गरी विदेशी लगानी स्वीकृत गर्ने निकायबाट विदेशी लगानीको समर्थन–स्वीकृति प्रदान भएमा वा यस्तो बढी भित्रिएको मितिपछि रकम र मिति समेत उल्लेख भएको विदेशी लगानीको स्वीकृति प्रदान भएमा लेखाङ्कन सम्बन्धी अन्य व्यवस्थाहरु पालना हुने गरी विदेशी लगानीको रुपमा लेखाङ्कन गर्न सकिने व्यवस्था विनियमावलीमा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।