तारागाउँको जग्गाको अनुसन्धान सकियो, प्रिमियम सेयर निष्कासनको अन्तिम चरणमा छ: प्रमुख राई

0
Shares

अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले मुख्य भनिएका अनियमितताको अध्ययन पूरा भएको बताएका छन् । संघीय संसदको लेखा समितिको बैठकमा ठूला भनिएका उजुरी उपर आवश्यक अनुसन्धान गरी मुद्दा चलाउने अवस्थामा पुगेको उनले बताएका हुन् ।

अख्तियार दूरुपयोग अनुसन्धान आयोगले सार्वजनिक लेखा समितिबाट अख्तियारलाई लेखिपठाएका निर्देशनको कार्यान्वयनको अवस्थाबारे जानकारी गराउँदै तारागाउँ विकास समितिको जग्गा सम्बन्धी विषयको अनुसन्धान पूरा भएको बताए । अख्तियारमा पुगेकामा अनुसन्धान टुङ्ग्याएर थप कारबाहीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको राइको भनाइ छ ।

नेपाल वायुसेवा निगमको ‘वाइडबडी’ विमान खरिद प्रकरणको अनुसन्धान अन्तिम चरणमा रहेको उनले बताए । वाइडबडी विमान खरिदका क्रममा भएको आर्थिक अनियमितताबारे अनुसन्धान थाल्दा विदेशस्थित विभिन्न सङ्घसंस्था तथा निकायबाट पनि सूचना प्राप्त गर्नुपर्ने भए पछि सम्बन्धित देशसँग सूचना आदानप्रदान सम्बन्धी द्विदेशीय सम्झौता नभएका कारण त्यसमा समस्या भएको प्रमुख आयुक्त राईले गुनासो गरे ।

सुरक्षण मुद्रण (सेक्युरिटी प्रिन्टिङ प्रेस) खरिद प्रकरण, चमेलिया जलविद्युत् आयोजना, वैज्ञानिक वन व्यवस्थापन सम्बन्धी, प्रिमियम मूल्यमा सेयर जारी गर्न दिने नेपाल धितोपत्र बोर्डको निर्णयविरुद्धको मुद्दा लगायत विषयमा अनुसन्धान गरिरहेको जानकारी दिए । आयोगमा आएका उजुरी उपर अनुसन्धान नभई कारबाहीको प्रक्रिया अघि नबढाउने पनि उनले स्पष्ट पारे ।

सार्वजनिक लेखा समितिको मंगलबारको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुरीको अनुसन्धान तथा मुद्दा दायर प्रक्रिय सुस्त भएको जनाउँदै अनुसन्धान र अभियोजनका काममा शीघ्रताका साथ अघि बढाउन निर्देशन दिएको छ । साथै समितिले गैरआर्थिक क्रियाकलापलाई पनि अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन आयोगलाई निर्देशन दिएको छ ।

आजको बैठकमा समितिबाट यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई भएका निर्देशनको कार्यान्वयनको अवस्थाका बारेमा छलफल भएको थियो । छलफलका क्रममा समिति सदस्यहरुले आयोगमा वर्षौंदेखिका उजुरी थन्किरहेको र त्यसको अनुसन्धान तथा अभियोजनको प्रक्रिया सुस्त देखिएको भन्दै प्रश्न उठाएका थिए ।

समितिमा छलफलपछि निर्देशन दिँदै सभापति ऋषिकेश पोखरेलले भने, “समितिले विभिन्न मितिमा दिएका कतिपय निर्देशन कार्यान्वयनमा ढिलाइ भएको देखियो । उजुरी फछ्र्योट, अनियमितता तथा अख्तियारको दुरुपयोगका घटनामाथि आयोगबाट शीघ्र कार्यसम्पादन गर्न÷गराउन यो समितिबाट निर्देशन दिने निर्णय भएको छ ।”

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने अनुसन्धानका क्रममा विदेशस्थित विभिन्न सङ्घसंस्था तथा निकायबाट सूचना लिन आवश्यक पर्ने भएकाले त्यसको कानुनी सहजताका लागि पहल थाल्न सरकारलाई समितिले दिर्नेशन दिएको छ । विदेशी कम्पनी तथा निकायबाट सूचना लिन जटिल देखिएका कारण सहज रुपमा सूचना पाउने स्थिति बनाउन सम्बन्धित देशसँग द्विपक्षीय सम्झौता गर्न समितिले सरकारलाई निर्देशन दिएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।