काठमाडौँ–तराई द्रुतमार्गलाई समयमै सक्न निर्देशन


नवनियुक्त रक्षामन्त्री हरिप्रसाद उप्रेतीले काठमाडौँ–तराई द्रुतमार्गलाई समयमै सक्न मन्त्रालय र नेपाली सेनाका उच्चअधिकारीलाई निर्देशन दिएका छन् ।

सिंहदरबारस्थित कार्यालयमा पदबहाली गर्दै मन्त्री उप्रेतीले नेपाली जनताको आशा र अपेक्षाको विषय रहेको उक्त आयोजनामा ढिलाइ भएको विषयमा आफू जानकार रहेको र अब निर्धारित समयमै सकाउन मन्त्रालयका तर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी नराखिने बताए ।

उनले राष्ट्रिय सुरक्षा, राष्ट्रिय हित र विकासमा मन्त्रालय तथा नेपाली सेनाले देखाउँदै आएको क्रियाशीलतालाई कायम राखी प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री उप्रेतीले नेपाली जनताको अगाध आस्था र विश्वासको धरोहर रहेको नेपाली सेनाको क्षमता विकासका काममा प्राथमिकता दिइने बताए । उनलाई मन्त्रालयका सचिव किरणराज शर्मा, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालगायत उच्च पदाधिकारीले स्वागत गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।