कञ्चनजङ्घा हिमशृङ्खला क्षेत्र : लयमा फर्किँदै पर्यटकको आगमन


कञ्चनजङ्घा क्षेत्रमा पछिल्लो समयमा घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । लामो समय सुनसानजस्तै रहेको कञ्चनजङ्घा क्षेत्रमा तीन महिनामा छ सय ५० बाह्य पर्यटकले भ्रमण गरेका छन् ।

कचञ्चनजङ्घा क्षेत्रमा दुई याममा पर्यटक भम्रण गर्ने गर्दछन् । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका सूचना अधिकारी दोभान लिम्बूले चालु आर्थिक वर्षको पहिलो याम असोज, कात्तिक र मङ्सिरसम्म कञ्चनजङ्घा हिमालको आधार शिविरको छ सय ५० जना बाह्य पर्यटकले अवलोकन गरेको बताए ।

त्यत्तिकै सङ्ख्यामा आन्तरिक पर्यटकले समेत कञ्चनजङ्घा क्षेत्रको अवलोकन गरेको भनिएतापनि आन्तरिक पर्यटकको तथ्याङ्क भने अहिलेसम्म राख्ने व्यवस्था नभएको परिषद् कार्यालयले जनाएको छ । यस क्षेत्रमा पर्यटकको आगमनले होटल व्यवसायी उत्साहित भएका छन् । दोस्रो याम चैत, वैशाख र जेठ महिनामा हुने पर्यटन व्यवसायीको भनाइ छ । अहिले दास्रो याम सुरु हुने समय भएको छ ।

गत वर्ष चार सय ३९ बाह्य पर्यटकले अवलोकन गरेका थिए । गत वर्षका तुलनामा चालु आवमा दुई सय ११ बाह्य पर्यटक वृद्धि भएको परिषद्को तथ्याङ्कले जनाएको छ । विस्तारै पर्यटकको आगमनसँगै पर्यटन व्यवसाय लयमा फर्कन थालेका छन् । कोभिड–१९ का कारणले लामो समय सुनसानजस्तै रहेको कञ्चनजङ्घा हिमशृङ्खला क्षेत्र विस्तारै लयमा फर्किन थालेको परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूले बताए ।

कञ्चनजङ्घा क्षेत्रमा बसोबास गर्ने समुदायको मुख्य आम्दानीको स्रोत पर्यटन हो । विस्तारै पर्यटकको आगमनले पर्यटन व्यवसायी तथा होटल व्यवसायी उत्साहित भएका छन् । कञ्चनजङ्घा आउने पर्यटक लक्षित गरेर कञ्चनजङ्घा हिमाल जाने पदमार्गमा सानो–ठूलो लगानीको ५२ होटल सञ्चालनमा रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को तथ्याङ्क छ । फक्ताङलुङ गाउँपालिका–६ ग्याप्लामा सात करोड रुपैयाँ भन्दा माथिको लगानीमा बनेको सिङ्गी नामजोङ होटल सञ्चलनमा छ ।

समुद्र सतहबाट तीन हजार पाँच सय मिटरदेखि चार हजार पाँच सय मिटर उचाइमा एक करोडभन्दा बढी लगानीमा बनेका चारवटा होटल सञ्चालनमा रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका कार्यक्रम सहायक संयोजक जितेन चेम्जोङले बताए । अन्य ८० लाख रुपैयाँदेखि माथिका लगानीमा होटल सञ्चालनमा रहेको चेम्जोङको भनाइ छ । पहिल्लो समयमा पर्यटकको आगमनले पर्यटन व्यवसायी तथा होटल सञ्चालक उत्साहित भएको घुन्साका होटल व्यवसायी पेमा शेर्पाले बताए ।

विसं २०७६\०७७ मा तीन सय ८६ पुरुष र एक सय ८६ महिला विदेशी पर्यटक कञ्चनजङ्घा हिमालमा आएको परिषद्को तथ्याङ्कमा उल्लेख छ । सार्क राष्ट्रबाट २५ पुरुष र चार महिला पर्यटक कञ्चनजङ्घा हिमालमा आएका हुन् । कञ्चनजङ्घा हिमालमा आउने विदेशी पर्यटकको तथ्याङ्कलाई २१ वर्ष पछाडि फर्केर हेर्दा विसं २०५६ मा पुग्न सकिन्छ । विसं २०५६ मा सात सय ९९ विदेशी पर्यटक कञ्चनजङ्घा घुमघाम गर्न आएको तथ्याङ्क छ । विसं २०५७ मा आठ सय ७३ विदेशी पर्यटक आएका छन् भने २०५७ देखि २०७७ सम्म ११ हजार एक सय ९७ विदेशी पर्यटक कञ्चनजङ्घा हिमाल अवलोकन गर्न आएको परिषद्को तथ्याङ्कले देखाएको छ ।

कञ्चनजङ्घा हिमालको आधार शिविर पुग्नका लागि दुईवटा पदमार्ग प्रयोग हुँदै आएको छ । पाँचथरको गणेशचोक हुँदै ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका हुँदै पर्यटक कञ्चनजङ्घा हिमालको आधार शिविर पुग्ने गर्दछन् । यो पदर्माग (साउथ रुट)मा पर्ने कञ्चनजङ्घा व्यवस्थापन परिषद्को याम्फुदीन कार्यालयका पर्यटन सहायक सूर्यमान राईले बताए ।

काठमाडौँदेखि हवाईमार्ग भएर ताप्लेजुङको सुकेटर विमानस्थलसम्म पुगेर फक्ताङलुङ गाउँपालिका हुँदै कञ्चनजङ्घा हिमालको आधार शिविर पुगिन्छ । यो पदर्माग (नर्थ रुट)मा पर्दछ । कञ्चनजङ्घा क्षेत्र जाने पर्यटकको विवरण कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले राख्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २४ फागुन २०८०, बिहीबार  ०९ : ५१ बजे