विदेशी मुद्रा सञ्चिति १८ खर्ब ४४ अर्बमाथि, एक वर्षको वस्तु तथा सेवा आयात धान्न पर्याप्त

0
Shares

मुलुकको कुल विदेशी मुद्रा (विनिमय) सञ्चिति १८ खर्ब ४४ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तसम्म यस्तो सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेकोमा सीमषा अवधिमा १९.९० प्रतिशतले बढेको हो ।

२०८० असार मसान्तमा अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति ११ अर्ब ७१ करोड रहेकोमा माघ मसान्तसम्म आइपुग्दा १८.६० प्रतिशतले बढेर १३ अर्ब ८९ करोड पुगेको राष्ट्र बैंकको मासिक प्रतिवेदनमा उल्लेख छ । बढ्दो रेमिट्यान्स आप्रवाह र घट्दो आयातको कारण देशभित्र विदेशी मुद्राको सञ्चित उच्चलेबलमा पुगेको हो ।

गत माघसम्म कायम कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको १६ खर्ब २३ अर्ब ९२ करोड रुपैयाँ छ । यस्तो रकम गत असारको तुलनामा २०.७० प्रतिशतले बढेको हो । गत असारमा १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ विनिमय सञ्चिति रहेको थियो ।

राष्ट्र बैंकका अनुसार २०८० माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६० प्रतिशत छ । माघसम्मको कायम सञ्चितिले १४.७ महिनाको वस्तु आयात र १२.३ महिनाको वस्तु तथा सेवा आयात धान्न प्रयाप्त हुने राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्ष २०७९/८० को सात महिनाको आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १०.८० महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।