वाणिज्य बैंकहरुको ७ महीनाको नाफा ३५ अर्ब ४९ करोड माथि

0
Shares

वाणिज्य बैंकहरुले कुल ३५ अर्ब ४९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । यो चालु आर्थिक वर्ष २०८०–८१ को ७ महिना अर्थात माघ मसान्तसम्म २० वटा वाणिज्य बैंकहरुले कमाएको नाफा हो ।

सञ्चालनमा रहेका २० वटा बैंकहरुमध्ये नाफामा नबिल ‘नम्बर वान’ नम्बर बन्दा राष्ट्रिय वाणिज्य बैंक पछिपछि दोस्रो स्थानमा छ । तेस्रो सूचीमा रहेको ग्लोबल आइएमई बैंक, चौंथोमा प्राइम कमर्सियल बैंक र पाँचौंमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक छ । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको चालु आर्थिक वर्षको माघ मसान्तसम्मको तथ्याङ्कमा एनआईसी एशिया छैटौं स्थानमा पुगेको छ । मर्जरले अन्य बैंकहरुले एनआईसी एशियाको स्थान पछाडि धकेलिएको हो ।

सबैभन्दा धेरै नाफा आर्जन गरेका नबिल बैंकले यस अवधिमा ३ अर्ब ९८ करोड ६५ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ । त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ६८ करोड ३० लाख रुपैयाँ नाफा कमाउँदा ग्लोबल आइएमई बैंकले २ अर्ब ६८ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

त्यसैगरी चौथो स्थान ओगटेको प्राइम कमर्सियल बैंकले २ अर्ब ५४ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । नाफामा प्राइमले आफ्नो स्थानमा सुधार गरेको छ । यस अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २ अर्ब ३८ करोड रुपैयाँ र एनआईसी एशिया बैंकको २ अर्ब १४ करोड ३० लाख रुपैयाँ नाफा रहेको छ । चालु आवको ७ महीनामा ६ ओटा वाणिज्य बैंकले २ अर्ब रुपैयाँभन्दा धेरै नाफा आर्जन गरेका हुन् ।

यस्तै, नाफाको सातौं सूचीमा रहेको एभरेष्ट बैंकले सात महिनामा १ अर्ब ९८ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ९४ करोड १७ लाख रुपैयाँ, हिमालयन बैंकले १ अर्ब ८३ करोड ७४ लाख, एनएमबि बैंकले १ अर्ब ६५ करोड ९७ लाख र कृषि विकास बैंकले १ अर्ब ५७ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।

समीक्षा अवधिको ७ महीनामा सिद्धार्थ बैंकले १ अर्ब ४१ करोड ८३ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १ अर्ब ४० करोड ८७ लाख, सानिमा बैंकले १ अर्ब ४० करोड १२ लाख, कुमारीले १ अर्ब १२ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

सात महीनामा पाँच ओटा वाणिज्य बैंकको नाफा एक अर्बभन्दा कम छ । यस अवधिमा सिटिजन बैंकले ९९ करोड ७८ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ९८ करोड ४ लाख, नेपाल बैंकले ९५ करोड ९१ लाख र नेपाल एसबिआई बैंकले ८५ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।