आठ महिनामा २९ अर्ब वैदेशिक लगानी प्रतिवद्धता, फागुनमा साढे ६ अर्ब

0
Shares

चालु आर्थिक वर्षको ८ महिनामा झण्डै २९ अर्ब बढीको वैदेशिक लगानी स्वीकृत भएको छ । उद्योग विभागका अनुसार गत साउनदेखि फागुन मसान्तसम्ममा कुल २९ अर्ब १३ करोड ४५ लाख बराबरको वैदेशिक लगानी स्वीकृत भएको हो ।

चालु आर्थिक ८ महिनाको अवधिमा विभिन्न देशबाट २५३ वटा नयाँ उद्योगका सो लगानी प्रतिवद्धता आएको हो । विभागका अनुसार फागुनसम्म ३ वटा ठूला, १२ वटा मध्यम र २३८ वटा साना उद्योगको लागि वैदेशिक लगानी स्वीकृत भएको हो।

स्वीकृत औद्योगिक परियोजना मध्येमा पर्यटन क्षेत्रका ४५ प्रतिशत, ३५ प्रतिशत सेवा क्षेत्र, १२ प्रतिशत उत्पादन क्षेत्र, ३ प्रतिशत सूचना तथा प्रविधि, २ प्रतिशत परियोजना कृषि क्षेत्रमा आधारित रहेका छन्। यस अवधिमा पर्यटन क्षेत्रमा ११५ वटा, सेवा क्षेत्रमा ८८ वटा, उत्पादन क्षेत्रमा ३० वटा, सूचना तथा प्रविधि क्षेत्रमा ८ वटा, पूर्वाधार क्षेत्रमा ६ वटा र कृषि क्षेत्रमा ४ वटा उद्योगमा लगानी प्रतिबद्धता जनाइएको छ ।

चालू आर्थिक वर्षको फागुन महिनामा साढे ६ अर्ब वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ । उद्योग विभागका अनुसार फागुनमा १२ परियोजना स्वीकृत हुँदा ६ अर्ब ४७ करोड २० लाख रुपैयाँ बराबरका लगानी स्वीकृत भएको हो । फागुनमा ४७७ रोजगारी सिर्जना हुने तथा फागुनसम्म १३ हजार १६९ संख्यामा रोजगारी सिर्जना हुने विभागले जनाएको छ ।

विभागका अनुसार हालसम्म ६ हजार ११२ उद्योगहरुका लागि ४ खर्ब ७९ अर्ब १० करोड बराबरकोे लगानी प्रतिबद्धता आएको जनाइएको छ । ती उद्योगहरुबाट ३ लाख २२ हजार २ सय ६६ जनाले रोजगारी पाउने विभागको भनाई छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।