लयमा फर्कँदै वित्तीय क्षेत्र, कर्जा असुलीमा कठोर हुँदा घट्न थाल्यो प्रोभिजनिङ र धितो सकार्ने क्रम

0
Shares

बैंक तथा वित्तीय संस्थाले कर्जा असुलीलाई तिब्रता दिएसँगै वित्तीय क्षेत्र लयमा फर्कन थालेको छ । बैंकहरु कर्जा असुलीमा कठोर भएसंगै धितो सकार्ने, प्रोभिजनीङ तथा कर्जा अपलेखनमा कमी आएसंगै सुधारको संकेत देखिएको हो ।

बैंक तथा वित्तीय संस्थाले कर्जा उठाउन थालेपछि धितो सकार्ने, प्रोभिजनीङ तथा कर्जा अपलेखनमा आएको कमीको सकारात्मक प्रभाव खुद नाफामा देखिएको छ । चालु आर्थिक वर्षको माघ महिनामा बैंक तथा वित्तीय संस्थाले ७ अर्ब २८ करोड रुपैयाँ खुद नाफा गरेका छन् । माघ महिनामा बैंक तथा वित्तीय संस्थाले कर्जा असुलीलाई तिब्रता दिएसंगै खुद नाफामा सुधार आएको हो ।

चालु आवको माघसम्ममा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी धेरै बढ्न सकेको छैन । नयाँ कर्जा नबढ्ने र पुरानो कर्जा असुलीमा केन्द्रीय बैंक तथा वित्तीय संस्थाको जोखिम व्यवस्था, गैर बैंकिङ र लोन रिटन अफमा खासै वृद्धि नभएपछि नाफा बढेको हो ।

चालु आवको माघ महिनामा बैंक वित्तीय संस्थाले करिब ३ अर्ब रुपैयाँ मात्र जोखिम ब्यवस्था गर्नु परेको केन्द्रीय बैंकले जनाएको छ । पुस महिनामा बैंक तथा वित्तीय संस्थाको यस्तो व्यवस्था १७ अर्बले बढेको थियो । अर्थतन्त्रमा आएको सुस्तताका कारण बैंकहरुको कर्जा नउठ्ने समस्या बढेपछि जोखिम व्यवस्था बढेको थियो । तर, चालु आवको तेस्रो त्रैमास सुरु भएपछि बैंकहरुले कठोर बन्दै कर्जा असुलीमा लागेपछि त्यसको सकारात्मक असर नाफामा देखिएको एक बैंकर बताउँछन ।

चालु आर्थिक वर्षको पुससम्ममा बैंक तथा वित्तीय संस्थाको खुद नाफा ३१ अर्ब ५२ करोड रुपैयाँ रहेको थियो । माघ महिनासम्म आइपुग्दा उक्त नाफा बढेर ३८ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । चालु आवको पुस महिनामा मात्रै ६० करोड ९० लाख रुपैयाँ खुद नाफा गरेका बैंक तथा वित्तीय संस्थाले माघमा भने बढाएका हुन ।

तर, चालु आवको माघ महिनाको खुद नाफा गत आवको सोही अवधिको तुलनामा १३.४७ प्रतिशतले थोरै हो । गत आवको माघमसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले ४४ अर्ब ८४ करोड खुद नाफा गरेका थिए ।

माघ महिनामा बैंकहरुले कर्जाको धितो सकार्ने तथा लोन रिटन अफ गर्ने क्रममा कमी आएको देखिन्छ । यसले बैंक तथा वित्तीय संस्थाले धितो सकार्ने तथा कर्जा सेटल गर्ने भन्दा पनि उठाउन तर्फ नै केन्द्रीत भएको स्पष्ट हुन्छ । माघ महिनामा बैंकहरुले कर्जा असुली नभएपनि सकार गरेको धितो अर्थात गैर बैंकिङ सम्पत्ति ७ करोड २० लाख रुपैयाँ बरावरको थप भएको छ । पुस महिनामा यस्तो सम्पत्ति साढे १५ करोड रुपैयाँ बराबरको थपिएको थियो ।

त्यसैगरी बैंक तथा वित्तीय संस्थाले कर्जा असुल गरेपछि जोखिम व्यवस्था गरेको रकम फिर्ता बढेको छ । यसरी फिर्ता भएको रकम सिधै नाफामा जोडिने भएकाले पनि नाफामा सुधार आएको हो । चालु आवको माघसम्ममा बैंक तथा वित्तीय संस्थाको जोखिम व्यवस्थाबाट फिर्ता भएको रकम २२ अर्ब ८३ गरेको पुगेको छ । चालु आवको पुससम्ममा यस्तो फिर्ता रकम १९ अर्ब ८५ करोड रुपैयाँ थियो । त्यसैगरी कर्जा नउठ्ने भएपछि सेल गर्नका लागि रिटन अफ गरेका कर्जाबाट पनि केही रकम उठेको केन्द्रीय बैंकले जनाएको छ । माघसम्ममा रिटन अफबाट ८ करोड रुपैयाँ उठेको केन्द्रीय बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाले कर्जा असुली नभएमा सुरक्षणमा रहेको धितो बेचबिखन गरी बाँकी साँवा र ब्याज उठाउन सक्ने व्यवस्था केन्द्रीय बैंकले गरको छ । संस्थाले कर्जा असुल गर्ने सिलसिलामा धितो लिलामी गर्दा लिलाम बिक्री नभएमा आफैँले सकार गर्नु पर्नेछ। यसरी बैंक वित्तीय संस्थाले गैर बैंकिङ सम्पत्ति समेत बिक्री गर्न नसकेको अवस्थामा त्यसलाई अपलेखन गर्न सक्छन ।

तर, कर्जा अपलेखन गर्दा बैंक तथा वित्तीय संस्थाले कर्जा खराब बर्गमा परी शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था भई सकेको हुनुपर्ने व्यवस्था छ । कर्जा असुलीको लागि प्रचलित ऐन तथा नीति बमोजिम धितो सुरक्षणको लिलाम बिक्रीको प्रक्रिया सम्पन्न गरेको हुनुपर्छ । साथै कर्जाको धितो सुरक्षण लिलाम बिक्री हुन नसकेको अवस्थामा अनिवार्य रुपमा धितो सकार गरेको अवस्थामा मात्र कर्जा अपलेखन गर्न सक्ने व्यवस्था छ । अपलेन भएको कर्जाबाट पनि धितो बिक्री गरेर कजर्न उठाउने काम भनेर जारी नै रहन्छ । धितो बिक्री भएपछि आएको रकम रिकभरी फ्रम लोन रिटन अफ शिर्षकमा राखिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।