श्रीराम सुगर मिल्स लगायत १५ कम्पनीले तिरेनन् कर, पन्ध्र दिनको ताकेता


आन्तरिक राजस्व विभागको मध्यमस्तरीय करदाता कार्यालयले श्रीराम सुगर मिल्स लगायत पन्ध्र कम्पनीलाई कर तिर्न १५ दिनको समय दिएको छ ।

कार्यालयले कर बक्यौता रकम दाखिला गर्न विभिन्न मितिमा फोन सम्पर्क, एसएमएस, इमेल तथा पत्राचार गरी जानकारी गराईएको र कार्यालयबाट कारोबार स्थलमा संकलन भ्रमण गर्दा बक्यौता रकम दाखिला नभएको भन्दै १५ दिन भित्र बक्यौता तिर्न सार्वजनिक सूचना जारि गरेको हो ।

जारि सूचनामा भनिएको छ, ‘ यसै सूचनालाई आधार मानी कर बक्यौता हुनु नपर्ने कुनै प्रमाण भए सो प्रमाण पेश गरी वा रकम बैक दाखिला गरी बक्यौता फरफारक गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । ’

पन्ध्र दिनभिध बक्यौता रकम नबुझाएमा आयकर बक्यौताको हकमा आयकर ऐन, २०५८ को दफा १०४ देखि दफा १११ सम्म तथा मूल्य अभिवृद्धि कर बक्यौताको हकमा मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २१ मा उल्लेखित कुनै वा सबै प्रकृया अपनाई कानूनी कारवाहिबाट असुल गरिने बताइएको छ ।

यी हुन् बक्यौता नतिर्ने १५ कम्पनी

बक्यौता नतिर्ने कम्पनीमा कान्तिपुर सेभिङ् एण्ड क्रेडिट को अपरेटिभ रहेको छ । जसको मुख्य व्यक्ति हिमालय विक्रम मल्ल ठकुरी हुन् । कान्तिपुर सेभिङ् एण्ड क्रेडिट को अपरेटिभले आउकर बुझाउन बाँकी रहेको सूचनामा उल्लेख गरिएको छ ।

यस्तै, मुख्य व्यक्ति सुरेन्द्र बहादुर भण्डारी रहेको लालिगुरांस बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले आयकर र मूल्य अभिवृद्धि कर बुझाउन बाँकी रहेको छ । यसैगरी, मुख्य व्यक्ति केदार नाथ शर्मा रहेको शिखरदीप बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पनि आयकर र मूल्य अभिवृद्धि कर बुझाउन बाँकी रहेको छ ।

यस्तै क्यापीटल सेभिङ्ग एण्ड क्रेडिट को अपरेटिभ लिमिटेडले आयकर बुझाउन बाँकी रहेको छ । जसको मुख्य व्यक्ति राम चन्द्र शर्मा पौडेल हुन् ।
यस्तै, मुख्य व्यक्ति दिपाकर गोल्छा रहेको श्रीराम सुगर मिल्सले आयकर र मूल्य अभिवृद्धि कर बुझाउन बाँकी रहेको सूचनामा भनिएको छ ।

यसैगरी बक्यौता रकम नतिर्नेमा डिभाइन स्ट्रिम नेटवर्क, आयोकी फेब्रिकोन नेपाल, मोतिदान कन्स्ट्रक्सन सेवा, रोल्पा सिमेन्ट, भुमि इन्फ्रास्टक्चर, लोकेन्द्र इन्टरप्राईजेज, अरनिको सिमेन्ट इण्डष्ट्रिज, खानीखोले इन्टरप्राइजेज, त्रिपुरेश्वर कन्डक्टर उद्योग र बराह डिपार्टमेन्ट स्टोर रहेका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।