निरन्तरको गिरावटले दुई हजार बिन्दुमुनी झर्यो नेप्से, ऋणपत्रको बढ्यो कारोबार

0
Shares

अर्थतन्त्रमा आएको सुस्तता र नियामकीय निकायको प्रथमिकतामा धितोपत्र बजार पर्न नसकेपछि पछिल्लो समय धितोपत्र बजारमा वियरिस प्रवृत्ति देखा परेको छ । बजारमा आएको निरन्तरको गिरावटले सेयर बजार परिसूचक मापक नेप्से दुई हजार बिन्दुमुनी झरेको छ ।

मंगलबार बजार सूचक दोहोरो अंक अर्थात १४.८१ अंकले घटेसँगै नेप्से १९९१.७१ बिन्दुमा झरेको छ । चैत २८ गते बुधबारदेखि घट्न थालेको नेप्से मंगलबारसम्म बढ्न सकेको छैन । पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्ड नेतृत्वबिहीन हुनुले पनि बैंकिङ्ग प्रणालीमा कायम रहेको अधिक तरलता र सस्तो ब्याजदरको सकारात्मक असर सेयर बजारमा पर्न सकेको छैन । नियामक निकायले सेयर लगानीकर्ताको मनोबल बढ्ने गरी काम गर्न नसक्दा बजार ओरालो बाटोमा पुगेको हो ।

सेयर बजारमा सकारात्मक माहोल सिर्जना हुन नसक्दा अधिकांश कारोबारी सेयर बजारमा दैनिक कारोबार गर्न छाडेका छन् । यसले दैनिक कारोबार रकम दुई अर्बमा खुम्चिएको छ । मंगलबार २ अर्ब १० करोड ३० लाख १९ हजार २१८ रुपैयाँ बराबरको मात्र सेयर किनबेच भयो । मंगलबार ३१२ कम्पनीका ५४ लाख ७१ हजार ६८ कित्ता सेयर ३९ हजार ४७६ पटक खरिद बिक्री भएको हो । हिजो सोमबार २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार ४३२ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बजार घटेपछि मंगलबार पनि सबै १३ ओटै उपसमुहगत सूचक राताम्मे बनेका छन् । जलविद्युत सर्वाधिक १.३१ प्रतिशतले घटेको छ भने लघुवित्त १.१६ प्रतिशत र अन्य १.०७ प्रतिशतले घटेको छ । बाँकी एक प्रतिशतभन्दा कम घटेका छन् ।

सुस्त बजारमा ऋणपत्रको कारोबार सक्रिय बनेको छ । शीष सेयर मूल्य बढेका दश कम्पनीमा चार ओटा ऋणपत्र छन् । सबैभन्दा बढी मूल्य बढेको १०.७५% एसबिएल डिबेञ्चर २०८९ को मूल्य ९.९९ प्रतिशतले बढेको छ । यस्तै गोर्खाज फाइनान्सको ९.९६ प्रतिशत, सिभिल बैंक डिबेञ्चर २०८८ को ८.१९, ग्रीन डेभलपमेन्ट बैंकको ५.०२ प्रतिशत र दिश्यश्वरी हाइड्रोपावरको ४.०४ प्रतिशतले मूल्य बढेको छ ।

मंगलबारको बजारबाट रुरु जलविद्युत कम्पनीका सेयरधनीले सर्वाधिक गुमाएका छन् । १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको कम्पनीको मूल्य प्रतिकित्ता ५६० रुपैयाँ ७० पैसामा झरेको छ । यस्तै पोखरा फाइनान्सको ६.७४, सिवाईसी नेपाल लघुवित्तको ६.५०, दोल्ती पावरको सेयर मूल्य ५.६० प्रतिशत र जनउत्थान सामुदायिक लघुवित्तको सेयर मूल्य ५.०६ प्रतिशतले घटेको छ ।

आज कारोबार रकमका आधारमा गोर्खाज फाइनान्स शीर्ष स्थानमा रहेको छ । सर्वाधिक कारोबार भएको कम्पनीको १७ करोड ५९ लाख ७८ हजार रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको छ । यस्तै सूर्यज्योति लाइफ इन्स्योरेन्सको ७ करोड ४३ लाख, पोखरा फाइनान्स ६ करोड ६९ लाख, सर्वोत्तम सिमेन्टको ४ करोड ५९ लाख र शिवम् सिमेनटको ४ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भयो ।
कारोबार कित्ताका आधारमा गोर्खाज फाइनान्सको सबैभन्दा धेरै २ लाख १२ हजार ६३६ कित्ता सेयर किनबेच हुँदा कारोबार संख्याका आधारमा हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक १ हजार ५१८ पटक कारोबार भएको छ ।

नेप्से घटेसँगै कुल बजार पुँजीकरण पनि आज २३ अर्ब ४८ करोड ६० लाख रुपैयाँले घटेर ३१ खर्ब ५८ अर्ब १० करोड ४५ लाख ६४ हजार रुपैयाँ कायम भएको छ । हिजो सोमबार कुल बजार पुँजीकरण ३१ खर्ब ८१ अर्ब ५९ करोड ५ लाख रुपैयाँ थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।