नेपाली सेनाले माग्यो ३१९ कर्मचारी, आजैदेखि आवेदन दिन सकिने


नेपाली सेनाले प्राविधिक \हवाई\ विविध सेवा तर्फका पदिक तथा विल्लादार पदहरुको लागि ३१९ कर्मचारी नियुक्त गर्ने भएको छ । भर्ना छनौट निर्देशनालय, जङ्गी अड्डाले शुक्रबार एक सूचना जारी गर्दै कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको हो ।

योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाईट www.nepalarmy.mil.np बाट अनलाईन दरखास्त फाराम भरी उम्मेदवार स्वयम् भर्ना केन्द्र स्वयम्भुमा उपस्थित भई दरखास्त पेश गर्नु पर्ने छ ।

उम्मेदवारहरू बि.एम.आई. र स्वास्थ्य परीक्षणबाट योग्य ठहरिएको, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको साथै तत्काल कुनै राजनैतिक दलको सदस्य नरहेको, कुनै अपराधिक गतिविधिमा संलग्न नभएको हुुनु पर्ने छ । यस्तै भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त नभएको हुनु पर्नेछ ।

उम्मेद्वारले आज बैशाख १४ गतेदेखि जेठ १२ गतेसम्म आवेदन दिन सक्ने छन् । दोब्बर दस्तुरमा भने जेठ १९ गतेसम्म आवेदन दिन सकिने छ ।

उम्मेदवारहरु दरखास्त पेश गर्ने अन्तिम मितिसम्म १८ बर्ष पूरा भई २५ वर्ष ननाघेको हुनु पर्ने छ । तलब, भत्ता, राशन तथा अन्य सुविधाहरू नेपाली सेनामा प्रचलित नियम र व्यवस्था अनुसार हुने जारी सूचनामा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।