नबिल बैंकबाट आइएफआइसी नबाहिरिने, सेयर बिक्री प्रक्रिया स्थगित

0
Shares

नबिल बैंकमा आईएफआइसी बैंकको नाममा रहेको सेयर बिक्री प्रक्रिया स्थगित भएको छ।

नबिल बैंकको सञ्चालक समितिको शनिबार बसेको बैठकले संस्थापक सेयर खरिद बिक्री स्थगित भएको विषय नियामकलाई जानकारी गराएको छ ।

तत्कालीन नेपाल बंगलादेश (एनबी) बैंकको विदेशी लगानीकर्ता आईएफआईसी बैंकले नबिल बैंकमा कायम सेयर नबेच्ने भएको हो । नबिल बैंकले एनबी बैंक प्राप्ति गरेपछि आईएफआईसीले आफ्नो स्वामित्व रहेको सेयर बिक्री गर्ने गरी नेपाल राष्ट्र बैंकमा निवेदन दिएको थियो ।

नबिल बैंकले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेन्जलाई बैंकको हाल कायम विदेशी लगानीकर्ता आईएफआईसी बैंकको नाममा रहेको संस्थापक सेयर खरिद/बिक्रीको प्रक्रिया स्थगन भएको जानकारी गराएको छ ।

नबिलमा आईएफआईसीको १ करोड ७७ लाख ३६ हजार ८८ कित्ता र सोबाट आर्जित बोनस सेयर कायम छ ।नबिल बैंकमा आइएफआईसीको सेयर स्वामित्व ७.७७ प्रतिशत रहेको छ । तत्कालिन नेपाल बंगलादेश(एनबी) बैंकमा आइएफआईसी लगानी गर्न आएको थियो ।

नबिल बैंकमा रहेको रहेको आइएफआईसीको सेयर बिनोद चौधरीको परिवारले किन्ने सहमति भएको थियो । राष्ट्र बैंकले सेयर खरिदबिक्रीको अनुमति लामो समयसम्म नदिएपछि सेयर खरिदबिक्रीको प्रक्रिया अहिलेको लागि पूर्ण रुपमा स्थगित भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।