बैंक तथा वित्तीय संस्थाको नाफा ५३ अर्ब, चैतको तुलनामा १९ प्रतिशले बढ्यो

0
Shares

चालु आर्थिक वर्षको दश महिना अर्थात बैंशाख महिनासम्ममा बैंक तथा वित्तीय संस्थाले ५३ अर्ब भन्दा धेरै खुद नाफा गरेका छन् । पछिल्लो समयमा कर्जा असुलीमा कठोर भएका बैंक तथा वित्तीय संस्थाले नाफा समेत बढाउन सफल भएका हुन ।

चालु आर्थिक वर्षको बैंशाख महिनासम्ममा आइपुग्दा बैंक तथा वित्तीय संस्थाको खुद नाफा ५३ अर्ब १९ करोड रुपैयाँ छ । यो खुद नाफा गत चैतको तुलनामा १९.०८ प्रतिशतले धेरै हो । चालु आवको चैतसम्ममा बैंक तथा वित्तीय संस्थाको खुद नाफा ४४ अर्ब ६७ करोड रुपैयाँ थियो ।

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी भन्दा पनि असुलीमा ध्यान दिए । कोरोना महामारी तथा आर्थिक मन्दीका कारण बढेको कर्जा ‘डिफल्ट’ ले बैंक तथा वित्तीय संस्थालाई कर्जा लगानी बढाउन भन्दा पनि विगतको कर्जा असुली गर्न दबाब पर्यो । कर्जाको डिफल्ट बढेसंगै नोक्सानी व्यवस्थालाइ धेरै रकम छुट्याउने पर्यो । त्यसले गर्दा बैंकहरको नाफामा असर गर्यो ।

त्यसका साथै नयाँ कर्जा लगानी समेत बढ्न नसक्दा बैंकहरुको आम्दानीलाई समेत असर गरेपछि नाफा निरन्तर घट्दो क्रममा थियो । त्यसका साथै विगतमा गरीएको अधिक कर्जा लगानीका कारण पुँजीकोषमा परेको दबाबले पनि बैंकहरुलाई कर्जा थप विस्तार गर्न असहज भएको थियो। त्यसपछि बैंकहरुले पुरानो कर्जा घटाउने, कर्जा नोक्सानी फिर्ता लिने, डिफल्ट कर्जालाई असुली गर्ने क्रमलाई बढाएपछि बैंशाख महिनाको नाफामा केही सुधार आएको हो ।

बैंकहरुले बैंशाख महिनामा गरेको नाफा चैतको तुलनामा बढेको भएपनि गत आवको सोही अवधिको तुलनामा १५.०३ प्रतिशतले घटेको हो । गत आवको बैशाखसम्ममा बैंक तथा वित्तीय संस्थाले ६२ अर्ब ६० करोड रुपैयाँ खुद नाफा गरेका थिए ।

चालु आवको बैंशाखसम्ममा बैंक तथा वित्तीय संस्थाको जोखिम व्यस्थाबाट फिर्ता रकम, ब्याज आम्दानी, विदेशी विनिमयको कारोबारबाट हुने आम्दानी लगायतका आम्दानीमा सुधार आएको छ । सो अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाले कर्जा नोक्सानी ब्यवस्थाबाट फिर्ता गरेको रकम मात्रै ३२ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा यस्तो फिर्ता रकम १७ अर्ब २३ करोड रुपैयाँ मात्रै थियो ।

चालु आवको बैंशाखसम्ममा वाणिज्य बैंकहरुको खुद नाफा ४८ अर्ब ६० करोड रुपैयाँ रहेको छ । यो नाफा गत चैतको तुलनामा १९.४८ प्रतिशतले धेरै हो । गत चैतमा वाणिज्य बैंकहरुको खुद नाफा ४० खर्ब ६८ करोड रुपैयाँ थियो । वाणिज्य बैंकहरुको नाफा चैतको तुलनामा बैंशाखमा बढेको भएपनि गत आवको सोही अवधिसंग तुलना गर्दा घटेको छ । गत आवको बैंशाखमा वाणिज्य बैंकहरुको खुद नाफा ५७ अर्ब १६ करोड रुपैयाँ थियो ।

त्यसैगरी चालु आवको बैंशाखसम्ममा विकास बैंकहरुको खुद नाफा ४ अर्ब १७ करोड रुपैयाँ रहेको छ । यो नाफा गत चैतको तुलनामा १४.१ प्रतिशतले धेरै हो । गत चैतमा विकास बैंकहरुको खुद नाफा ३ अर्ब ६५ करोड थियो । वकास बैंकहरुको नाफा पनि चैतको तुलनामा बैंशाखमा बढेको भएपनि गत आवको सोही अवधिलाई हेर्दा घटेको छ । गत आवको बैंशाखमा विकास बैंकहरुले ४ अर्ब २९ करोड रुपैयाँ खुद नाफा गरेका थिए ।

चालु आवको बैंशाखसम्ममा फाइनान्स कम्पनीहरुको खुद नाफा ४१ करोड ५० लाख रुपैयाँ छ । यो नाफा गत चैतको तुलनामा २४.९९ प्रतिशतल धेरै हो गत चैतमा फाइनान्स कम्पनीहरुको खुद नाफा ३३ करोड २० लाख रुपैयाँ थियो । फाइनान्सहरुको बैंशाखसम्मको खुद नाफा गत आवको सोही अवधिको तुलनामा भने घटेको हो । गत आवको बैंशाखमा फाइनान्स कम्पनीहरुको खुद नाफा एक अर्ब १४ करोड रुपैयाँ थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।