इजरायलमा नेपाली कामदार पठाउँदै सरकार, विज्ञ भन्छन्–’सरकारले हतार गर्यो’

0
Shares

सरकारले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा नेपाली सहायक कामदार पठाउने भएको छ । सरकारले मंगलबार एक सूचना जारी गर्दै इजरायलको लागि कामदार पठाउने जनाएको हो ।

गत वर्षको अक्टोबरमा इजरायल–हमास युद्ध सुरु भएदेखि अवरुद्ध हुन पुगेको नेपाली कामदारहरूलाई इजरायल पठाउने प्रक्रिया पुनः सुरु गरिएको हो ।

प्यालेस्टिनी संगठन हमासका लडाकु इजरायलको सीमाभित्र प्रवेश गरी २०२३ अक्टोबर ७ मा आक्रमण गरेका थिए । उक्त घटनापछि इजरायलले त्यहाँ काम गरिरहेका ८२ हजार प्यालेस्टिनीको श्रम स्वीकृति एकैपटक रद्द गरेको थियो । त्यसबेला युद्धका कारण अन्य विदेशी कामदार पनि घर फर्किएका थिए । त्यही कारण अहिले इजरायलमा कामदारको अभाव भएकोले इजरायलमा नेपाली कामदार पठाउन लागिएको हो ।

त्यसबेला हमासको हमलामा परेर ’लर्न एन्ड अर्न’ कार्यक्रममा गएका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । त्यस घटनामा बेपत्ता भएका नेपाली विद्यार्थी विपीन जोशीको अवस्था अझै अज्ञात छ ।

वैदेशिक रोजगार मामिलाका विज्ञहरू भने इजरायल नेपाली कामदारका लागि अझै पनि सुरक्षित स्थान हो भन्ने सुनिश्चित नभएकाले सरकारले हतारमा निर्णय गरेको बताउँछन् । अहिले कै अवस्थामा सरकारले इजलायलमा नेपाली कामदार पठाउन नहुने उनीहरुको भनाई छ ।

यता, परिश्रमिक र अन्य सुरक्षाका हिसाबले इजरायल राम्रो मुलुक भएतापनि युद्धले थोरै जटिलता बनाएको परराष्ट्र विज्ञ दिपक अधिकारी बताउँछन् । यद्यपी इजरायलमा पारिश्रमिकका साथै राम्रो सेवा, सुविधा पनि रहेको र कृषि क्षेत्रमा धेरै नेपालीले त्यहाँ काम गरिरहेको भएकाले अन्य देशमा भन्दा इजरायल राम्रो भएको उनको तर्क छ । त्यहाँ भएको युद्ध आन्तरिक नभएकोले गर्दा काम गर्न जानै नहुने भन्ने नरहेको उनको तर्क छ ।

इजरायलमा कृषि, औद्योगिक क्षेत्र, निर्माण र ‘केयर गिभर’ मा कामदार अभाव छ। यो पटक इजायलले दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको रूपमा नेपालीहरूलाई लिन चाहेको छ।

त्यस्ता केन्द्रमा बालबालिका, युवा तथा ६५ वर्ष ननाघेका गम्भीर अपाङ्गता भएका व्यक्तिहरूको स्याहारका लागि कामदार माग भएको हो।

मङ्गलवार सूचना जारी गर्दै इच्छुक व्यक्तिहरूलाई २१ दिनभित्र आवेदन दिन आग्रह गरेको छ। वैदेशिक रोजगार विभागले जारी गरेको उक्त सूचना अनुसार कुल ८०० नेपाली कामदारको माग भएकोमा ५०० जना मुख्य उम्मेदवारका रूपमा रहने छन्। थप ३०० जना वैकल्पिक उम्मेदवारका रूपमा रहने सूचनामा उल्लेख गरिएको छ। इजरायल पठाइने कामदारमध्ये ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष रहने छन्।

यस्तो छ इजलायलको लागि चाहिने न्यूनतम योग्यता

दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको रूपमा जान चाहने नेपाली कामदार २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने छ । कम्तीमा १.५ मिटर उचाइ र कम्तीमा ४५ किलोग्राम तौल हुनुपर्ने छ भने कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमि (एएनएम) वा सीएमएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा १०+२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केअरगिभिङसम्बन्धी कम्तीमा तीन महिनाको तालिम लिएको हुनुपर्ने छ ।

यस्तै, भिसाका लागि प्रक्रिया प्रारम्भ गर्दा आवेदकको राहदानीको म्याद समाप्त हुन कम्तीमा तीन वर्ष बाँकी रहेको हुनुपर्ने, विगतमा इजरेलमा गएर काम नगरेको हुनुपर्ने, बाबु, आमा, पति, पत्नी, छोरा, छोरी इजरेलमा बसोबास नगरेको वा कार्यरत नरहेको हुनुपर्ने र मानसिक र शारीरिक रूपमा स्वस्थ हुनुपर्ने छ ।

यस्तो छ कामदारले पाउने सेवासुविधा

इजरायल जाने कामदारले त्यहाँको नियमानुसार साताको छ दिन कुल ४२ घण्टा काम गर्नुपर्ने जारी सूचनामा उल्लेख छ । त्यसबाहेक अतिरिक्त समय काम गर्दा इजरायलको सरकारी नियमानुसार उनीहरूले थप पारिश्रमिक पाउने छन्।

नेपाली कामदारले आफ्नो खाना र आवासको खर्च आफैँले बेहोर्नुपर्ने हुन्छ। यद्यपि त्यहाँका रोजगारदाताले विदेशी कामदारका लागि आफैँले आवासको व्यवस्था गरिदिएका हुन सक्छन्। त्यस्तोमा पनि आवासको भाडा तिर्नुपर्ने हुन्छ।

सुरुमा एक वर्षको करारमा जाने कामदारले त्यो अवधि थप गर्न सक्छन् र अधिकतम पाँच वर्षसम्म काम गर्न पाउने सूचनामा उल्लेख गरिएको छ।
अन्तिम चरणमा छनोट भएर इजरायल जान पाउने नेपाली कामदारहरूले केही निश्चित खर्च भने आफैँले बेहोर्नुपर्ने हुन्छ।

त्यस्ता खर्चमा इजरायलसम्म जाने एकतर्फी हवाई भाडा, स्वास्थ्य बीमा, पूर्वप्रस्थान अभिमुखीकरण, राहदानी, स्वास्थ्य परीक्षण, अङ्ग्रेजी भाषा परीक्षण, कोभिड परीक्षण, वैदेशिक रोजगार कल्याणकारी कोषका गर्नुपर्ने योगदान र सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने रकम लगायत छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।