सुन तस्करी प्रकरणमा सीआईबीको दोस्रो प्रतिवेदन: ५ कम्पनीमार्फत ३० अर्ब ८२ करोडको ३१ सय ९४ किलो सुन तस्करी

0
Shares

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सोमबार पत्रकार सम्मेलन गरेर गत वर्ष साउनमा त्रिभुवन विमानस्थल भन्सारमा समातिएको अवैध सुनको थप तथ्य सार्वजनिक गरेको छ ।

ब्यूरोका अनुसार तस्कर समूहले विभिन्न ५ वटा नक्कली कम्पनी खडा गरेर ३० अर्ब ८२ करोड २२ लाख मूलय बराबरको ३१ सय ९४ किलो सुन तस्करी गरेको जनाएको हो ।

सीआईबीले यस प्रकरणमा थप २० जनालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा २ चिनियाँ नागरिक पनि छन् ।

पक्राउ परेकाहरूलाई संगठित अपराध, सुनको अवैध तस्करी लगायतमा सजाय माग र २ खर्ब ६६ अर्ब ६७ करोड रुपैयाँ बिगो दाबी पनि गरिएको छ । पक्राउ परेका २० र फरार रहेका २६ गरी ४६ जनालाई सीआईबीले प्रतिवादी बनाएको छ ।

सीआईबीले उक्त अवैध सुनको भुक्तानी प्रक्रियामा संलग्न भएको भन्दै नेपालका दुईवटा पेमेन्ट गेटवे पेवेल नेपाल र सजिलो पेमेन्टका कर्मचारीलगायत ८ जनालाई पक्राउ पनि गरेको छ । तस्करीको सुनका लागि १ खर्ब रुपैयाँभन्दा बढी रकम अनलाइनबाटै भुक्तानी भएको पाइएको सीआईबीले जनाएको छ ।

त्यस्तै पेवेल नेपाल प्रालिसँग ६१ अर्ब ५० करोड २७ लाख ९ हजार २३३ रूपैयाँ, सजिलो पे पेमेण्ट सर्भिसेज प्रालिसँग १९ अर्ब ४६ करोड २५ लाख ७३ ७८५ रूपैयाँ र अन्य प्रतिवादीहरूसँग ५ अर्ब १८ करोड १५ लाख ९१ ९६४.७६ रूपैयाँ बिगो मागदाबी गरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।