नेप्से दुई दिनमै १२४ अंक माथि उक्लियो, २१ अर्ब बढीको कारोबार

0
Shares

नयाँ सरकार गठन भएसँगै लगानीकर्ता उत्साहित देखिँदा सेयर बजारमा लगातार उल्लेख्य वृद्धि देखिएको छ। आर्थिक वर्ष २०८१/८२ को पहिलो दिनको कारोबारमा मंगलबार उछाल देखिएको सेयर बजारमा बुधबार पनि हरियाली छाएको छ।

पछिल्लो दुई दिनमा नेप्से सूचक १२४ अंक माथि उक्लिएको छ भने दुई दिनमा २१ अर्ब बढीको कारोबार भएको छ । नयाँ आर्थिक वर्षको पहिले दिन मंगलबार ७० अंकले बढेको नेप्से सूचक बुधबार ५४ अंक माथि उक्लिएर २३६४ अंकमा पुगेको छ । लामो समयपछि बजारले यसरी लगातार उचाइ समातेको हो।

बुधबार मात्रै १२ अर्ब ५ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ । बुधबारको कारोबार ३५ महिना यताकै उच्च हो । यस अघि २०७८ भदौ १५ गते १३ अर्ब १६ करोडभन्दा बढीको सेयर कारोबार भएको थियो। सोपश्चात आजै नेप्सेमा १२ अर्बबढीको शेयर खरिदबिक्री भएको हो। अघिल्लो दिन मंगलबार नेप्से ७०.१८ अंकले बढ्दा ९ अर्ब १३ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालले सत्ता समीकरण गर्ने सहमति गरेपछि लगानीकर्तामा देखिएको उत्साहले बजारमा निरन्तरता पाएको छ । नयाँ समीकरणपछिको १३ कारोबार दिनमध्ये ११ दिन नेप्से उकालो लागेको छ । असार १७ गते नेप्से २०५३.३८ विन्दुमा रहेकामा दुई सातामै ३११ अंकले बढेको हो।

यस दिन पनि १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ७.३० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक साढे ५ प्रतिशत बढेको छ भने विकास बैंक उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ।

यस दिन सेन्ट्रल फाइनान्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो फाइनान्सको शेयरमूल्य यस दिन ५४ रुपैयाँ ९० पैसा बढेर ६०३ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन सिंगटी हाइड्रो इनर्जी, आँखुखोला जलविद्युत कम्पनी, मन्दाकिनी हाइड्रोपावर लगायतका कम्पनीहरुको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। कारोबारमा आएको सिटिजन्स म्युचुअल फण्ड २ को इकाईमूल्य यस दिन सर्वाधिक ९.९० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सिंगटी हाइड्रो नै शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २३ करोड ५५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट बैंकको करिब २३ करोडको शेयर खरिदबिक्री भएको छ भने सोनापुर मिनरल्स एण्ड आयल र हिमाल दोलखा हाइड्रोपावरको कारोबार रकम २० करोड नाघेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।