निजी क्षेत्र गुनासो लिएर सिंहदरबार नआउने वातावरण सिर्जना गर्छु : मन्त्री भण्डारी

0
Shares

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रलाई कुनै गुनासो लिएर सिंहदरबार आउन नपर्ने वातावरण सिर्जना गर्ने बताएका छन । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग बुधबार भएको भेटमा मन्त्री भण्डारीले सो कुरा बताएका हुन।

मन्त्री भण्डारीले देशका व्यवसायी र उद्योगीले भोग्नुपरेको समस्याबारे आफूलाई जानकारी रहेको बताउँदै अर्थतन्त्रमा परेका समस्यालाई सम्बोधन गर्न आफूले सक्दो प्रयास गर्ने बताए । उनले उत्पादनमूलक गतिविधि बढाउन सहयोग गर्ने र त्यसका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तर्जुमा गर्न मन्त्रालय लागिरहेको बताए । उनले उद्योगमैत्री नीति ल्याई उद्योगलाई सहज बनाउने बताए ।

मन्त्री भण्डारीले आफ्नो कार्यकालमा निजी क्षेत्रले लगानी गर्न ढुक्क हुने गरी मन्त्रालयमा संस्थागत सुधार गर्ने प्रयास गर्ने बताए ।

भेटमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आत्मविश्वास बढाउने नीति ल्याउन मन्त्री भण्डारीलाई आग्रह गरे । ढकालले थप स्वदेशी लगानी आउनका लागि निजी क्षेत्रको विश्वास बढाउनुपर्ने बताए । विदेशी लगानीकर्ताले लगानी गर्नुअघि बजारमा स्वदेशी लगानीको प्रवाह हेर्ने भएकाले स्वदेशी लगानी आवश्यक रहेको उनले बताए ।

स्वदेशी लगानी बढाएर मात्रै विदेशी लगानी बढाउन सकिने ढकालले बताए । नेपालको अर्थतन्त्र उकास्न लगानी आवश्यक रहेको भन्दै उनले लगानीकर्तामैत्री नीति ल्याउनुपर्नेमा जोड दिए । उनले विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्रमा अत्याधिक भाडा लिइएको बारे मन्त्री भण्डारीलाई जानकारी दिँदै यस विषयमा पनि ध्यान दिन आग्रह गरे ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।