नबिल बैंकको लागत बढ्दा आम्दानी र नाफा प्रभावित, ईपिएस घट्यो

0
Shares

नबिल बैंक (NABIL) ले सार्वजनिक गरेको आर्थिक वर्ष ०७६/०७७ को दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार आधिकांस सूचकमा गिरावट आएको छ । बैंकको कोषको लागत बढ्दा खुद ब्याज आम्दानी, संचालन नाफा तथा खुद नाफा घटेको छ ।

बैंकको नाफा घट्दा प्रतिशेयर आम्दानीमा गिरावट आएको छ भने खराब कर्जा समेत केहि बढेको छ । बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म २ अर्ब ४ करोड खुद नाफा गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.२० प्रतिशत कम हो ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब १७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको ब्याज खर्च बढ्दा खुद ब्याज आम्दानीमा गिरावट आउँदा नाफा घटेको हो । पुस मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४५ करोड ९१ लाख रुपैयाँ रहेको छ। बैंकले यस आधारमा करिब २९ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ।

एक खर्ब ६४ अर्ब ३२ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ४१ अर्ब ३९ करोड कर्जा परिचालन गरेको छ । जसबाट ३ अर्ब ४५ करोड १६ लाख रुपैयाँमा खुद ब्याज आम्दानी गरेको छ । बैंकको निक्षेप सामान्य बढेको छ भने कर्जा करिब ११ प्रतिशतले बढेको छ।

१० अर्ब ९ करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ११ अर्ब ६७ करोड ६ लाख रुपैयाँ, शेयरधनी कोषमा २ अर्ब १३ करोड र शेयर प्रिमियममा ७४ हजार रुपैयाँ रहेको छ।

बैंकको निष्क्रिय कर्जा ०.६२ प्रतिशतबाट बढेर ०.७५ प्रतिशत पुगेको छ। बैंकको प्रतिशेयर आम्दानी  ४५ रुपैयाँ ३२ पैसामा झरेको छ। बैंकको प्रतिशेयर नेटवर्थ २३६.६८ रुपैयाँ, मूल्य आम्दानी अनुपात १६.१० गुणा छ ।

बैंकको कोषको लागत ६.०२ प्रतिशत, आधार दर ८.१० प्रतिशत र स्प्रेड दर ४.९९ प्रतिशत तथा कर्जा निक्षेप अनुपात ७७.२८ प्रतिशत छ ।