‘बुलिस ट्रेण्ड’ को नेप्से १६ सय बिन्दु पछ्याउँदै, ‘बुल ट्रयाप’ को खतरा

0
Shares

गएको महिनादेखि बढ्न थालेको शेयर बजारमा उच्च वृद्धिको क्रम जारी नै रहेको छ । प्रतिरोध बिन्दु पार गरे पश्चात निरन्तर उच्च कारोबार हुँदै आएको नेप्सेले १६ सय विन्दुको लक्ष्य पछ्याएको छ ।

शेयर बजारले बुलिस ट्रेण्ड समातेपछि दैनिक कारोबार रकम समेत बढ्न थालेको छ । गत साता ५ कारोबार दिनमा ११ अर्ब बढीको कारोबार भएको बजारमा यो साताको पहिलो तीन दिनमै दश अर्ब बढीको कारोबार भयो ।

बुधबार पनि बजार खुलेको डेढ घण्टाको अवधिमा डेढ अर्ब बढीको शेयर किनबेच भईसकको छ । यो साता कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गर्ने निश्चित देखिएको छ ।

नेप्से सूचक समेत साढे दुई वर्ष यत्ताकै उच्च विन्दुमा पुगेको छ । बुधबार बजार खुलेको पहिलो डेढ घण्टामा साढे ४६ अंकले बढेर १५९१ विन्दुमा पुगेको छ । यसबीचमा १७७ कम्पनीका झण्डै ४० लाख कित्ता शेयर एक अर्ब ६२ करोड बराबरमा किनबेच भएको छ।

शेयरबजारमा नयाँ लगानीकर्ताको प्रवेश र पुराना तथा अल्पकालीन कारोबारीहरुले लगानी बढाउँदा बजारमा दैनिक उच्च कारोबार हुने गरेको छ भने शेयरको माग समेत बढ्दा नेप्से समेत बढ्न थालेको छ ।

तर यस प्रकारको वृद्धि जोखिमयुत्त हुने विश्लेषकहरु बताउँछन् । एकैपटक उच्च अंकको वृद्धि हुँदै आएको बजारमा बुलिस ट्रयापको खतरा बढ्दै गएको विश्लेषण समेत गर्न थालिएको छ । करेक्सन नभई लगातार बढेको बजारमा नयाँ लगानीकर्ताहरु फस्ने सम्भावना पनि उत्तिकै रहन्छ ।