प्राइम कमर्सियल बैंकको साधारण सभामा १६ प्रतिशत बोनस प्रस्ताव हुने


प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने १६ प्रतिशत बोनस सेयरको प्रस्ताव पारित गर्नका लागि आगामी २६ गते आइतबार साधारणसभा गर्ने भएको छ ।

नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा बिहान १० बजे ११ औ बार्षिक साधारण सभामा कुनै बैंक तथा वित्तीय संस्थासंग एक आपसमा मर्ज हुने (गाभ्ने÷गाभिने), प्राप्ति (एक्विजिशन) गर्न सम्बन्धमा आवश्यक प्रकृया पुर्याउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत रहेको छ ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ३ करोड ३२ लाख ९९ हजार रुपैयाँ छ । १६ प्रतिशत बराबरको एक अर्ब २८ करोड ५३ लाख २७ हजार ८४० रुपैयाँ बोनस वितरणपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ३१ करोड ८६ लाख २६ हजार ८४० रुपैयाँ पुग्नेछ । साधारण सभाले संस्थापक शेयरधनीहरुबाट ३ जना संचालक र सर्वसाधारण शेयरधनीहरुले तर्फबाट ५ जना गरी ८ जना संचालक समेत चयन गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि जेठ ९ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने बैंकले जनाएको छ । त्यस अनुसार जेठ ८ गते सम्म कायम शेयरधनीहरुले बैंक लाभांश पाउनेछन् ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकले एक अर्ब ५४ करोड ७९ लाख ०५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिको तुलनामा बैंकले ३१.३६ प्रतिशतले नाफा बढाएको हो। बैंकले यस अवधिमा एक अर्ब ७९ लाख ८८ हजार रुपैयाँ वितरण योग्य नाफा (फ्रि प्रोफिट) आर्जन गरेको छ।