पुनर्बीमा कम्पनीको आईपीओ पहिलो दिनमा २९ प्रतिशत बिक्री

0
Shares

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मंगलबारदेखि सर्वसाधरणलाई निष्कासन गरेको आईपीओ पहिलो दिनमै २९ प्रतिशत बिक्री भएको छ।

कम्पनीले आजदेखि १०० रुपैयाँ अंकित दरमा १ अर्ब ६० करोड रुपैयाँ बराबरको १ करोड ६० लाख कित्ता प्राथमिक शेयर (आईपीओ ) बिक्रीमा ल्याएको हो। जसमध्ये १ करोड ५१ लाख २६ हजार ५०० कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ्ग अनुसार साँझ साढे ५ बजेसम्म २७ हजार ३५९ आवेदकबाट ४२ लाख ८० हजार २९० कित्ता शेयरका लागि आवेदन परेको छ ।

आरविवि मर्चेन्ट बैंकिङ्गकी अधिकृत सृजना बास्कोटाका अनुसार सर्वसाधारणका लागि निष्काशन गरिएको शेयरमा ४२ करोड ८० लाख २९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । मेरो शेयर सफ्टवेयरबाट आवेदन भर्न समस्या आएकाले पहिलो दिनमा अपेक्षित आवेदन पर्न नसकेको उनको भनाई छ।

मेरो शेयरबाट आईपीओ भर्न समस्या भएपछि लगानीकर्ता आक्रोशित

कम्पनीले कुल निष्काशित १ करोड ६० लाख कित्तामध्ये ७३ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरुलाई र ८ लाख कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याएको छ।

इच्छुक लगानीकर्ताले मेरो शेयर सफ्टवेयर तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सक्नेछन्। यसमा न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ।

कम्पनीको आईपीओ निष्काशन छिटोमा चैत ७ गते बन्द हुनेछ भने सो अवधिमा बिक्री नभएमा ढिलोमा चैत १८ गतसम्म खुला रहनेछ।

क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई इक्रा एनपी आईपीओ ग्रेड २ रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय आधारभूत अवस्था औषतभन्दा माथि रहेको जनाउँछ।

इक्राले १ देखि ५ सम्म ग्रेडिङ्ग प्रदान गर्दै आएको छ। ग्रेड १ ले सबैभन्दा बलियो आधार रहेको जनाउँछ भने ग्रेड ५ ले कमजोर आधार रहेको संकेत गर्दछ।

प्रकाशित मिति: ४ चैत २०७६, मंगलबार  १८ : १५ बजे