भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै हिमालयन बैंक, पर्यटन बोर्ड र अमेकिन एक्सप्रेसका बिचमा सम्झौता

0
Shares

नेपालको पर्यटन प्रवद्र्धनका लागि हिमालयन बैंक, नेपाल पर्यटन बोर्ड र अमेरिकन एक्स्प्रेसको सहकार्यमा “एक्स्पेरियन्स नेपाल” अभियान सुरु भएको छ ।

अभियानको मुख्य उद्देश्य नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरु अमेरिकन एक्स्प्रेस कार्डका प्रयोगकर्तालाई नेपाल भ्रमण गर्न र यहाँको मौलिकता, विविधता र प्राकृतिक सौन्दर्यताको अनुभुति गर्न अभिप्रेरित गर्ने रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

अभियान अवधिमा नेपाल घुम्न आउने अमेरिकन एक्स्प्रेस कार्डवाहक विदेशी पर्यटकहरुले नेपालमा विभिन्न सुविधाका साथै हिमालयन बैंकको ८० भन्दा बढि मर्चेन्ट पार्टनरहरुबाट बिशेष छुट पाउने बताइएको छ ।

“एक्स्पेरियन्स नेपाल” अभियान सन् २०२० को जुन महिनासम्म सञ्चालन गर्ने बताइएको छ । पर्यटन बोर्ड र अमेरिकन एक्स्प्रेसले आ—आफ्नो तर्फबाट विभिन्न देशहरुमा अभियानको प्रचार, प्रसार र प्रर्वद्धन गर्ने छन् । हिमालयन बैंकले पनि अभियान अवधिभर आफ्नो वेवसाईट, सोसियल मेडियाका माध्यमबाट प्रचार प्रसार गर्ने जनाएको छ ।

पत्रकार सम्मेलनमा अमेरिकन एक्स्प्रेसकी दिव्या जैनले अभियानले नेपालमा पर्यटन प्रवद्र्धनका साथै स्थानिय व्यवसायलाई प्रोत्साहन मिल्ने बताइन्। अभियानले अमेरिकन एक्स्प्रेस कार्ड प्रयोगकर्तालाई नेपाल घुम्न उत्प्रेरणा मिल्ने उनले बताइन् ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले एक्स्पेरियन्स नेपाल २०१९ अभियानले नेपालको भ्रमण बर्ष २०२० अन्तर्गत पर्यटकहरुलाई जीवनको अविस्मरणीय अनुभुति गराउने उद्देश्य लिएको बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले नेपाल विदेशी पर्यटक माझ प्रवद्र्धन हुने र नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका थिए ।