ओखलढुङ्गाको रुम्जाटारमा १२ कामदार अलपत्र

0
Shares

ओखलढुङ्गाको रुम्जाटारमा १२ मजदुर अलपत्र परेका छन् । स्थानीय तौलीकुलो सिँचाइ आयोजना चार्खुमा काम गर्न आएका सुर्खेतका ६ र इलामका ६ कामदार अलपत्र परेका हुन् ।

कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले लकडाउन घोषणा गरेपछि आयोजनाको काम अघि नबढेको र घर जाने अवस्थासमेत नहुँदा आफूहरु समस्यामा परेको सुर्खेतका चन्द्रबहादुर कार्कीले बताए। काम रोकिएपछि बिहान बेलुकाको खानाको व्यवस्थापनसमेत नभएको उनको गुनासो छ ।

“काम रोकियो, घर जाने अवस्था पनि भएन । यहाँ के खाएर बस्नु, हामी त झनझन समस्यामा फस्यौं”, कार्कीले रासससँग भने, “ठेकेदारमार्फत यहाँ आएको, काम नभएपछि ठेकेदारले पैसा दिने कुरा गरेनन्, सरकारले दिने भनेको राहत कसरी पाइन्छ त्यो पनि थाहा छैन।”

चौध कामदारमध्ये दुई जना आफन्तको सहारामा त्यहाँबाट हिँडिसकेका छन्। ठेकेदारले काम रोकिएपछि आफ्नो व्यवस्थापन आफैँ गर्नु भनेकाले समस्यामा परेको इलामका वर्तमान लिम्बूको दुःखेसो छ। घरजाने व्यवस्था मिलाइदिन अन्यथा बसोबास र खानपानको व्यवस्थापन गरिदिन कामदारहरुले माग गरेका छन् ।

आयोजनाको रकम निकासा नभएकाले सबै रकम कामदारलाई भुक्तानी दिन नसकिएको ठेकेदार कम्पनी टाईगर रुम्जाटार हलेसी यसुदा जेवीका सोमबहादुर विकले बताए। अहिलेसम्म आफूले खाना र बासको व्यवस्थापन गर्दै आएको र सरकारले दिने राहतका विषयमा पहल गरिहेको उनको भनार्इ छ।
प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले स्थानीय सरकारमार्फत राहत वितरणको कार्य भइरहेकाले सम्बन्धित स्थानीय तहमा सम्पर्क गर्न आग्रह गरोका छन्। “विपन्न, गरिब र मजदुरलाई राहत सहयोग गर्ने कार्यक्रम स्थानीय तहमार्फत भइरहेको छ, नगरपालिकाले वितरण शुरु गरेको हुनुपर्छ त्यहाँ सम्पर्क गरौँ, खान नपाएर अलपत्र नपरौँ”, उनले भने।