कोरोना संक्रमितको संख्या ६ पुग्यो, बागलुङकी ६५ वर्षीय वृद्धमा संक्रमण


नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा छैठौं सक्रमण पुष्टि भएको जनाएको छ ।

पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बागलुङकी ६५ वर्षकी वृद्ध महिलामा कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको पुष्टि गरेका हुन् ।

ती वृद्ध महिला चैत ४ गते कतारबाट काठमाण्डौं आएकी थिइन् । उनी आएकै जहाजमा फ्रान्सबाट नेपाल आउने क्रममा कतारको दोहाबाट ट्रान्जिट लिएकी १९ वर्षीय युवतीमा यस अघि नै कोरो संक्रमण पुष्टि भैसकेको छ ।

चैत ४ गते साँझ कतार एयरवेजको फ्लाइट नम्बर क्युआर ६५२ बाट काठमाण्डौं आएका तीन जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ ।

अहिलेसम्म घरमा नै रहेकी ती वृद्ध महिलालाई अस्पताल ल्याउने तयारी भैरहेको छ ।