‘समान कामका लागि समान व्यवहार’

0
Shares

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले ‘समान कामका लागि समान व्यवहार’लाई विश्वव्यापीरूपमा स्थापित गराउन अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)  ले भूमिका खेल्नुपर्ने बताएका छन ।

आइएलओको शतवार्षिकी ९१९१९–२०१९० को अवसर पारेर सोमबार राजधानीमा आयोजित ‘उज्ज्वल भविष्यका लागि काम’ विषयको कार्यक्रममा गर्दै उनले सबै गन्तव्य मुलुकले आफ्ना देशका नागरिकलाई प्रदान गरिएको सेवासुविधासरह विदेशी श्रमिकलाई पनि समान ढङ्गले प्रदान गर्ने वातावरण निर्माणका लागि विश्वव्यापीरूपमा वकालत गर्न आग्रह गरे ।

मन्त्री विष्टले भने, “कतिपय गन्तव्य मुलुकका नागरिकले जुन प्रकारले न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा प्राप्त गरेका छन्, त्यसको अनुपातमा नेपाली श्रमिकले नगन्य पारिश्रमिक मात्रै प्राप्त गरेका छन्, समान काम, समय र परिणामका लागि नेपाली श्रमिकले प्राप्त गर्ने सुविधा र सम्बन्धित देशका नागरिकले प्राप्त गर्ने सुविधाबीचमा फरक हुनुहुँदैन, यस्तो अवस्थामा आइएलओले समान कामका लागि समान व्यवहारलाई विश्वव्यापीरूपमा स्थापित गराउन छलफल चलाउनु जरुरी छ ।”

नेपालमा काम गर्ने विदेशी श्रमिकलाई नेपालको कानूमबमोजिम नेपाली श्रमिकसरह सेवासुविधा उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्दै उनले नेपाली नागरिक र विदेशी नागरिकमा कुनै विभेद नहुने प्रष्ट पारे । मन्त्री विष्टले भने, “नेपालभित्र काम गर्ने सबै श्रमिकलाई समान ढङ्गले व्यवहार गर्ने र अधिकार प्रदान गरिनेछ । नेपालभित्र काम गर्ने विदेशी श्रमिकलाई पनि नेपाली श्रमिकसरह योगदानमा आधारित सामाजिक सुरक्षा उपलब्ध गराइनेछ ।”