वैदेशिक रोजगारीबाट फर्केका १८ हजार युवा सहुलियत कर्जाका लागि बैंक जाँदै


वैदेशिक रोजगारीवाट फर्केका साढे १८ हजार भन्दा धेरै युवा सहुलीयत कर्जा लिनका लागि बैंक नै धाउनु पर्ने भएको छ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीबाट फर्केका युवालाई सहुलियत कर्जा लिन बैंक तथा वित्तीय संस्थामा नै सम्पर्क गर्न भनेको हो ।

बोर्डले गत मङ्सिर १३ गतेदेखि पुस मसान्तसम्म आवेदन सङ्कलन गरेको थियो । सहुलियत कर्जाका लागि वैदेशिक रोजगारीबाट फर्केका १८ हजार ७६७ युवाले बोर्डमा आवेदन दिएका थिए ।

बोर्डले तोकिएको मापदण्ड पूरा गरेका १७ हजार ७३७ पुरुष र ८९३ महिलालाई सरल कर्जाका लागि श्रम, रोजगार तथा सामाजिक मन्त्रालयसमक्ष सिफारिश गरेको थियो । सरल कर्जाका लागि आवेदन दिएका युवाको विवरण बोर्डको वेबसाइटमा राखिएको छ ।

कर्जा उपलब्ध गराउने प्रक्रियामा बैंक तथा वित्तीय संस्थाले सूचीकरण विवरण माग गरे आवेदन दिने युवालाई बोर्डका तर्फबाट सूचीकरण विवरण तथा सिफारिश उपलब्ध गराइने कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए।

बोर्डले आज एक सूचना जारी गर्दै सहुलियत कर्जा लिन सूचीकृत भएका युवालाई आफूले पेश गरेको व्यावसायिक कार्ययोजनासहित पायक पर्ने वाणिज्य बैंक तथा वित्तीय संस्थामा सम्पर्क गर्न अनुरोध गरेको हो । सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई विदेशमा सिकेका सीप र दक्षताको प्रयोग गरी स्वदेशमै स्वरोजगार बन्न सहयोग गर्ने उद्देश्यले सहुलियत कर्जा उपलब्ध गराउन लागेको हो ।

सरल कर्जाका लागि सिफारिशमा परेकामध्ये सबैभन्दा बढी मलेसियाबाट फर्केका युवा रहेका छन् । सरलकर्जा माग गर्नेमा मलेसियाबाट फर्केका ६ हजार ४०८, साउदीबाट फर्केका चार हजार ३९२, यूएईबाट फर्केका दुई हजार ६१७ जना रहेका छन् । त्यस्तै जापानमा रोजगारी गरेर फर्केका ३९ जनाले समेत सरल कर्जा माग गरेका छन् ।

सरकारले आव २०७५÷७६ को बजेट वक्तव्यमा विदेशबाट फर्केका युवाको सीप प्रमाणीकरण गरी त्यस्ता युवालाई सम्बन्धित व्यवसाय सञ्चालन गर्न परियोजनामा आधारित १० लाख रुपैयाँ सम्मको ऋण उपलब्ध गराउने घोषणा गरेको थियो । सरकारले सरल कर्जा कार्यक्रमलाई व्यवस्थितरूपमा सञ्चालन गर्न ‘सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ जारी गरिसकेको छ । स्वरोजगार बन्न चाहने युवालाई सहुलियत कर्जा प्रदान गर्न नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइसकेको छ ।

प्रकाशित मिति: ७ जेठ २०७६, मंगलबार  २१ : ५५ बजे