गोरखामा पनि भेटिए कोरोना संक्रमीत


र्यापिड डाइग्नोस्टिक टेस्ट(आरडिटी) परीक्षणको क्रममा गोरखाका एक नेपालीमा कोरोना रिपोर्ट पाजेटिभ देखिएको छ । गोरखा आरुघाट घर भइ भर्खरै मात्र बहराइबाट फर्केका युवालाइ परिक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ ।

मंगलबार स्वास्थ्य कार्यालय गोरखा र आरुघाट गाउँपालिकाको स्वास्थ्य इकाइले आरडिटी प्रविधिमार्फत एण्टिबडी जाँच गर्दा आरुघाट गाउँपालिका ५ का एकजनाको पोजेटिभ देखिएको गाउँपालिकाले जनाएको छ । मंगलबार आरुघाट गाउँपालिकामा विदेशबाट आएका ३९ जनामध्य २० जनाको आरडिटी प्रविधिमार्फत एण्टिबडी जाँच गरिएको थियो ।

‘स्वास्थ्यकर्मीले एकजनाको रिपोर्ट पोजेटिभ देखिएको छ भन्नुभएको थियो’, गाउँपालिकाका अध्यक्ष पूर्ण दाहालले भने, ‘उनको स्वाब परीक्षण गर्न पठाइएको छ । अब दुई दिनपछि रिपोर्ट आएपछि मात्र कोरोना भाइरस पोजेटिभ भए नभएको निश्चित हुनेछ ।’ उनी गत फागुन २२ गते बहराइनबाट नेपाल आएका अध्यक्ष दाहालले जानकारी दिए ।

त्यस्तै आरुघाट गाउँपालिकाकै अर्का एक युवाको पनि रिपोर्ट शंकास्पद देखिएको अध्यक्षले बताए । उनको पनि स्वाब पठाइएको उनले बताए । दुवै युवालाई आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेशनमा राखिएको छ भने परिबारलाई होमक्वारेण्टाइनमा राखिएको उनले बताए।

मंगलबार नै गोरखाको भीमसेन थापा गाउँपालिकाका २३ जनाको पनि आरडिटी परीक्षण गरिएको थियो । विदेशबाट आएका गाउँपालिकाभरिका २६ जनामध्य २३ जनाको परीक्षण गरिएको गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डेले जानकारी दिए । उनीहरु सबैको रिपोर्ट दुई दिनपछि मात्र आउने स्वास्थ्य कार्यालय, गोरखाले जनाएको छ ।