घरमा भएको अन्नको भकारी रित्तिँदै, नयाँ अन्न थप्न नपाउँदा किसान चिन्तित

0
Shares

‘घरमा भएको पुरानो अन्नको भकारी रित्तिँदै गयो, नयाँ अन्न थप्न नपाउने भइयो ।’ नयाँ अन्न थप्नका लागि घरघरमा अन्न भण्डारण गर्ने भकारी सुधार गरिरहेका चिन्तित किसानहरूको भनाइ हो यो ।

लकडाउनले पुरानो अन्न राखिएको भकारी रित्तिँदै गइरहेका बेला नयाँ अन्नबाली गहुँ भकारीभित्र थप्ने बेलामा पटक–पटक परेको असिनापानीले गहुँखेतीलाई क्षति बनाएकै कारण किसानमा चिन्ता बढ्न थालेको हो । पुरानो अन्नबाली भण्डारण त्यो आपतकालीन अवस्थामा प्रयोग गर्ने र नयाँ अन्न बाली सङ्कलन गरी सोही भकारीमा स्रोतभर्ना गर्ने भए पनि अहिले पुरानो रित्तिँदै गइरहेको र नयाँ थप्न असिनापानीले गहुँवाली भित्र्याउन नदिएपछि दैलेखका अधिकांश किसानमा चिन्ता र नैराश्य बढ्न थालेको हो ।

किसानले लगाएको गहुँखेतीमा दाना लाग्न शुरु गरेदेखि घरमा भण्डारण गर्न तयारी अवस्था हुँदासम्म यो शनिबारसम्म पाँच पटक एउटै बालीमा असिनापानीले चुट्दा उनीहरूमा चिन्ता र नैराश्य बढ्न थालेको छ । गहुँका दाना लाग्न शुरु हुँदा गत पुसमा जिल्लाका नौमूले, गुराँस, भगवतीमाई र महाबु गाउँपालिका तथा गत चैत महिनामा गहुँ पाक्न थाल्दा आठविस, दुल्लू, चामुण्डाविन्द्रासैनी, नगरपालिका र भैरवी, ठाटीकाँध गाउँपालिका कृषकले लगाएको गहुँखेतीलाई असिनापानीले क्षति गर्दा किसान निकै समस्यामा परेको आठविस नगरप्रमुख खड्गराज उपाध्यायले बताए ।

शनिबार परेको असिनापानीका कारण जिल्लाका पहिलो र दोस्रो पटकको क्षति बाट बचेको गहुँखेती पाकेर घरमा भित्र्याउने तयारी अवस्थाको गहुँलाई नष्ट पारेपछि किसानलाई दशा लागेको अखिल नेपाल किसान सङ्घ दैलेखका अध्यक्ष चन्द्रबहादुर थापाले जानकारी दिए ।

पछिल्लो समय विभिन्न व्यवसाय, पेशा, रोजगारी, अध्ययन र गाउँलाई अलि नरुचाउने शहरी परिवेश मन पराउनेहरु पनि यो महामारीबाट जोगिन सबैजसो पुख्र्यौली गाउँमा आई साविक परिवार सङ्ख्याभन्दा बढी हुँदा गाउँका घरमा पहिलेभन्दा दोब्बर खाद्यान्न खपत हुँदा र नयाँ खेतीमा असिनापानीले क्षति पु¥याउँदा हरेक किसानलाई चिन्ता थपिँदै गएको उनले बताए ।

व्यावसायिक खेतीमा लागेका कृषकको उत्पादित तरकारी पनि लकडाउनका कारण बिक्री नहुँदा बारीमै कुहिन थालेको र खाद्यान्न अभावको सङ्कट पूर्ति गर्ने गहुँखेती असिनापानीले क्षति हुँदा अब केही समयभित्र खाद्य सङ्कट हुने सम्भावना बढेर गएको थापा बताउछन् । समयमै स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले भोलि आउने खाद्य सङ्कटको खतरालाई मध्यनजर गरेर लाग्नुपर्ने उनले बताए ।

राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित अगुवा कृषक सर्वजित भण्डारी आफ्नो लाखौँको तरकारी खेती घरमै कुहिन थालेको र गहुँबालीलाई पनि असिनापानीले क्षति पार्दा सयौँ किसान चिन्तामा परेको बताउछन् । “घरमा भएको पुरानो अन्नको भकारी रित्तिँदै गयो, नयाँ अन्न थप्न नपाउने भइयो । अब ज्याला मजदुरी गरेर किनेर खानेजस्तै भयौँ, माटोसँगै दिनरात खेलेर मुठी रोपेर मानो बनाउनेको पनि दैवीप्रकोपले उही हालत बनायो”, उनले भने, “विपन्नलाई सरकारले राहत वितरण गरेको छ, हामीलाई कसले दिने, मागौँ त्यो कहाँबाट आएको चामल हो ? कसरी खानु ? कहिल्यै बजारको चामल खाएनौँ । नमागौँ यो हाम्रो हालत अन्न नहुनेजस्तै भयो ।”

दैलेखको कूल जमीनमध्ये ४३.१२३ हेक्टरमा लगाइएको गहुँखेतीलाई पटकपटक परेको असिनापानीले क्षति पु¥याउँदा किसानमा चिन्ता र नैराश्यता प्रकट हुनु स्वाभाविक रहेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख तिलक पाण्डेले बताउनुभयो । “गहुँखेतीले कम्तीमा तीन महिना खान पुग्ने हुन्थ्यो तर अहिलेको दैवीप्रकोपले गहुँखेतीबाट शून्य अवस्थामा पुगेको हुनसक्छन्, त्यसैले यो अवस्था हो भने खाद्य सङ्कटको सम्भावना बढेर जानसक्छ”, उनले भने ।

जिल्लामा दुई हजार ३०० क्विन्टल चामल ल्याइएको भए पनि हाल गोदाममा ६५० क्विन्टल चामल मौज्दात रहेको खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी शाखा कार्यालय दैलेखका प्रमुख रणबहादुर ऐरीले जानकारी दिए । लकडाउनपछि सर्वसाधारणका लागि सधैँ खुला गरिएकाले प्रत्येक दिन २० देखि ३० क्विन्टल चामल बिक्री भइरहेको हुँदा यो दरले बिक्री हँदा यो महिनाभित्र मौज्दात चामल पनि सकिने उहाँले बताए । जिल्लामा खाद्यान्न समस्या नहोस् भनेर थप एक हजार १०० क्विन्टल चामलको माग गरी प्रदेशमा पठाइएको ऐरीले जानकारी दिए ।