आरम्भ लघुवित्तको चौतारीमा मर्जर अघि यस्तो आयो वित्तीय विवरण

0
Shares

आरम्भ लघुवित्त वित्तीय संस्था (AMFI) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ करोड ४ लाख १ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवको यसै अवधिमा लघुवित्तको यो नाफा ८५.८३ प्रतिशत बढी हो।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ५५ लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चुक्ता पूँजी ६ करोड ४४ लाख रुपैयाँ रहेको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी २१ रुपैयाँ ५२ पैसा रहेको छ। यस्तै जगेडा कोषमा पनि आकर्षक बढोत्तरी भएको छ। लघुवित्तको जगेडा कोषको आकार ५१ लाख ७५ हजार रुपैयाँबाट बढेर १ करोड ८४ लाख रुपैयाँ सञ्चित हुन पुगेको छ।

चैत मसान्तसम्ममा लघुवित्तले १९ करोड ४३ लाख बचत संकलन र ४३ करोड १२ लाख रुपैयाँ बैंकबाट सापटी लिएर आफ्ना ऋणीहरुमा ६५ करोड ७७ लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ। यसबाट लघुवित्तले ३१.१३ प्रतिशत धेरै ३ करोड १० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

लघुवित्तको सञ्चालन मुनाफा पनि ८४ लाखबाट ९३.८२ प्रतिशत बढेर १ करोड ६३ लाख ४५ हजार रुपैयाँ पुगेको छ।

लघुवित्तले खराब कर्जा अनुपात १.४४ प्रतिशत बिन्दुले घटाएर १.१५ प्रतिशतमा सीमित पारेको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ १२८.६७ रुपैयाँ र मूल्य आम्दानी अनुपात २४.५८ गुणा छ।

आरम्भ र चौतारी लघुवित्त १ः१ स्वाप रेसियोमा मर्जर प्रक्रियाको अन्तिम चरणमा रहेका छन् । नेपाल राष्ट्र बैंकले दुई महिना अगावै दुबै लघुवित्तलाई एक आपसमा मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरिसकेको छ।

मर्जरपछि आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्ने सम्झौता छ ।

प्रकाशित मिति: २२ वैशाख २०७७, सोमबार  १८ : ०० बजे