भारतीय शेयर लगानीकर्ताले तीन दिनमा कमाएको एक घण्टामै गुमाए

0
Shares

भारत सरकारले तेस्रो चरणको लकडाउनको घोषणपछि खुलेको पहिलो दिनको एक घण्टामै भारतीय शेयर बजारमा अस्वभाविक गिरावट आएको छ । सोमबार एक घण्टाको अवधिमा भारतीय पूँजी बजारको आकार ५ लाख करोड रुपैयाँले घटेको हो ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि भारत सरकारले गत मार्च २५ देखि निरन्तर लकडाउन गर्दै आएको छ । आइतबार भारत सरकारले तेस्रो चरणको लकडाउन थप २ साताका लागि थपेपछि शेयर लगानीकर्ताको मानोबल अस्वभाविक रुपमा कमजोर देखिएको हो ।

लकडाउनको अवधिमा अन्य क्षेत्र बन्द भएपनि शेयर बजारमा भने निरन्तर कारोबार भैरहेको छ । भारत सरकार तथा रिजर्भ बैंक अफ इण्डियाले ल्याएका राहात प्याकेजका कारण बजारमा सुधार पनि देखिएको थियो । तर, कोरोना भाइरसको नियन्त्रण अनिश्चि भएसँगै भारतमा बढ्दो संक्रमणका कारण लकडाउनको अवधि बढाई रहेको अवस्था छ ।

यसले शेयर लगानीकर्तामा आगामी दिनका सन्दर्भमा समेत पुर्वाअनुमान गर्न नसक्ने अवस्था आएपछि तेस्रो चरणको लकडाउनले शेयर लगानीकर्ता शेयर बिक्री गरेर बजारबाट बाहिरिन खोजेको देखिन्छ ।

भारतीय शेयर बजारमा मे महिनामा सोमबार कारोबार भएको पहिलो दिन हो। सोमबार बम्बइ स्टक एक्सचेन्ज सूचक सेन्सेक्स १ हजार ७०० अंकसम्मले घटेको थियो भने नेशनल स्टक एकसचेन्ज सूचक निफ्टी ४७५ अंकले घटेको थियो । सोमबार बैंक तथा अटो क्षेत्रका कम्पनीको शेयर मूल्य उच्च गिरावट आएको छ । यी क्षेत्रका केही शेयर ८ देखि १० प्रतिशतसम्मले घटेका छन् । लगानीकर्ताले पछिल्लो तीन कारोबार दिनमा कमाएको सोमबारको एक घण्टामै गुमाएका हुन्।

गत अप्रिल ३० मा सेनसेक्सनको कुल बजार पूँजीकरण एक करोड २९ लाख ३९ हजार ८२ करोड भारतीय रुपैयाँ थियो । सोमबारको एक घण्टामा यो घटेर एक करोड २४ लाख ३२ हजार ९ सय ४५ करोड भारतीय रुपैयाँमा सीमित भएको छ ।

मार्च महिनामा लकडाउनका कारण पूँजी बजारमा सूचीकृत कम्पनीको कार्यसम्पादनमा असर गरेको छ । फलस्वरुप लगानीकर्ताले अनुमान गरेभन्दा ठूलो गिरावट सूचीकृत कम्पनीको नाफामा आएपछि बजार सूचक नकारात्मक भएको हो । आजसम्म सर्वाजानिक भएका विवरण अनुसार ७० प्रतिशत सूचीकृत कम्पनीको नाफा नकारात्मक रहेको छ ।

त्यसका साथै अमेरिकामा पनि प्रख्यात कम्पनीको कार्यसम्पादन खराब रह्यो । अमेजन तथा हाथबे कम्पनीहरुलाई धेरै नोक्सानी भएको छ । कोरोनाका कारण विश्वव्यापी रुपमा शेयर बजारमा त्रास कायम नै रहेको छ ।

सोमबार भारतीय धितोपत्र बजारमा बन्द हुँदा करिब ६ प्रतिशतले घटेको छ। सोमबार सेन्सेक्स २ हजार २.२७ अंकले घटेर ३१ हजार ७१५.३५ अंकमा झरेको छ । त्यसैगरी निफ्टी ५६६.४० अंकले घटेर ९ हजार २९३.५० अंकमा झरेको छ ।