आईपीओ निष्काशनको अन्तिम चरणमा रहेको अजोड इन्स्योरेन्सको नाफा ३४% बढ्यो

0
Shares

अजोड इन्स्योरेन्स (AJOD) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ करोड ५१ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४.६८ प्रतिशत बढी हो।

गत आवको यसै अवधिमा कम्पनीले २ करोड ६० लाख ९० हजार रुपैयाँ नाफा कमाएको थियो। कम्पनीो वार्षिक प्रतिशेयर आम्दानी ६.६९ रुपैयाँ रहेको छ। चैत मसान्तसम्ममा इन्स्योरेन्सको जगेडा कोषमा ३ करोड ३३ लाख रुपैयाँ सञ्चित छ भने बीमा कोषमा ४ करोड ८१ लाख रुपैयाँ र महाविपत्ती जगेडामा ५० लाख रुपैयाँ सञ्चित छ।

चैत मसान्तको अवधिमा इन्स्योरेन्सले १८ करोड ४९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। गत आवको यसै अवधिमा कम्पनीले ९ करोड २९ लाख खुद बीमाशुल्क आर्जन गरेको थियो।

चुक्ता पूँजी ७० करोड रहेको यस इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने प्रक्रियामा छ। जसका लागि कम्पनीले नियामक निकाय धितोपत्र बोर्डमा अनुमतिका लागि निवेदन दिइसकेको छ। बोर्डबाट अनुमतिपछि सर्वसाधारणमा शेयर जारी हुनेछ।

इन्स्योरेन्सले ३० लाख कित्ता साधारण शेयर निष्काशन गर्ने प्रस्ताव गत पुस ११ गते सम्पन्न साधारण सभाबाट पारित गरिसकेको छ। आईपीओ निष्काशनपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब पुग्नेछ।