लकडाउन र निषेधित क्षेत्र तोडेर प्रहरीमाथि हातपात गर्ने चिनियाँ विरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाइने

0
Shares

सिंहदरबार अगाडि लकडाउन र निषेधित क्षेत्र तोड्दै प्रहरीमाथि नै हातपात गर्ने चार चिनियाँलाई अभद्र व्यवहारमा मुद्दा चलाइने भएको छ ।

महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले उनीहरुलाई आइतबार अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान गरिने जानकारी दिए।

शुक्रबार अपराह्न बन्दाबन्दीका समयमा निषेधित क्षेत्रको उल्लङ्घन गरी प्रहरीमाथि आक्रमण गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

परिसरका अनुसार गाभिड र लियो लाओलाई महानगरीय प्रहरी वृत्त दरबारमार्ग र ज्याङ जङ तथा गेगा न्यानीलाई सिंहदरबारस्थित वृत्तमा राखिएको छ। पक्राउ परेका अन्यलाई भने छाडिएको छ।

उनीहरु घर जान पाउनुपर्ने माग राख्दै ‘वी वान्ट टु गो ब्याक होम’ लेखेको प्लेकार्ड बोकेर निषेधित क्षेत्र तोडी सिंहदरबारतर्फ आएका थिए। उनीहरूले प्रहरीको लाठी खोसेर प्रहरीलाई नै हिर्काएका थिए। त्यसको जवाफमा प्रहरीले पनि उनीहरूमाथि लाठी हानेको थियो।

सोही क्रममा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतसहित पाँच प्रहरी र छ चिनियाँ घाइते भएका थिए । पर्यटक राहदानीमा घुम्न आएका ती चिनियाँ ठमेलबाट रानीपोखरी, रत्नपार्क हुँदै सिंहदरबारतर्फको निषेधित क्षेत्रतर्फ आएका थिए ।

प्रकाशित मिति: २७ वैशाख २०७७, शनिबार  १७ : ४७ बजे